मइ दिवस र ट्रेड युनियन खारेजीको सन्दर्भ
बैशाख १८, २०८३, शुक्रबार | साँझ ०६:१० बजे | 60
सुनील सापकोटा
कौसलटार , भक्तपुर
आज अङ्ग्रेजीको तारिख मइ - १ हो। त्यसैले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा नेपालमा ट्रेड युनियन ऐन खारेज गर्ने चर्चा हुनु सामान्य राजनीतिक विषय मात्र नभई यो त श्रमिक अधि कार, लोकतान्त्रिक अभ्यास र अन्तर्राष्ट्रिय प्रतिबद्धता संग जोडिए को संवेदनशील पनि प्रश्न हो। म बिगतमा आफैं नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा करिब १० वर्ष जति ट्रेड युनियनका विभिन्न जिम्मेवारी पदहरुमा बसेर कर्मचा रीहरूको हक–हितका पक्षमा काम गरेको अनुभव राख्छु। त्यसैले त्यो बिगतको अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकाएको थियो त्यो केहो भने ट्रेड युनियन केवल संगठन मात्र होइन। यो श्रमिकको आवाज, सुरक्षा र सम्मानको आधार हो। जहाँ युनियन कमजोर हुन्छ, त्यहाँ श्रमिकको आत्मविश्वास र कार्यस्थलको न्याय पनि कमजोर हुँदै जान्छ। कानुनी दृष्टिले हेर्दा संसदबाट पारित भएको ऐनलाई सरकारले सिधै खारेज गर्न सक्दैन। त्यसका लागि संसद मार्फत विधिसम्मत प्रक्रिया अपनाउनै पर्छ। असाधारण अवस्थामा अध्यादेश ल्याउन सकिए पनि त्यो अस्थायी उपाय मात्र हो, स्थायी समाधान होइन। संसदलाई बाइपास गरेर गरिने निर्णयले कानुनी मात्र होइन कि नैतिक प्रश्न पनि उठाउँछ। नेपाल पनि International Labour Organization (ILO) को सदस्य राष्ट्र हो। यसले श्रमिकको संगठन स्वतन्त्रता सामूहिक बार्गेनिङ अधिकार जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरूलाई सम्मान गर्ने दायित्व लिएको छ। यस्तो अवस्थामा ट्रेड युनियन ऐनलाई कमजोर पार्ने वा हतारमा खारेज गर्ने प्रयासले नेपालप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि नकारात्मक सन्देश जान सक्छ। यसैले यदि वर्तमान ऐनमा सुधार आवश्यक छ भने त्यसको बाटो “ खारेज ” होइन, “ संशोधन ” हुनुपर्छ। सरकार, जागिर दिने संस्था र ट्रेड युनियन बीच खुला संवाद गरेर सन्तुलित र न्यायपूर्ण सुधार गर्नु नै दीर्घकालीन समाधान हो। एकपक्षीय निर्णयले समस्या समाधान गर्नुको सट्टा थप अविश्वास र अस्थिरता जन्माउने खतरा हुन्छ। अन्ततः श्रमिकको अधिकारको संरक्षण गर्नु केवल कानुनी दायित्व मात्र होइन। यो त सामाजिक न्याय र लोकतन्त्रप्रतिको प्रतिबद्धता पनि हो। समसामयिक सुधार हुनु पर्छ। तर त्यो सुधार समावेशी, संवेदनशील र जिम्मेवार ढंगले हुनुपर्छ भन्ने मेरो बिचार हो।अन्त्यमा सम्पुर्ण ट्रेडयुनियनका साथिहरुमा मइ दिवसको शुभकामना ! धन्यवाद **
