"नमुना संसदमा ख्वप विश्वविद्यालय विधेयक बहुमतले पारित"
बैशाख १७, २०८३, बिहीबार | राति ०९:०८ बजे | 760
भक्तपुर १७ वैशाख। विद्यार्थीहरूलाई राज्यको शासन सञ्चालन प्रणाली कानुन निर्माण प्रक्रिया र विधिको शासन बारे ज्ञान गराउन शैक्षिक कार्यक्रमको नाममा पुरानो तथा परम्परागत सुगा रटनको ढङ्गको संस्कारलाई आधुनिक ढङ्गले वैज्ञानिक र समय सापक्ष तथा विवेकपूर्ण र व्यावहारिक बनाउन कानुनी आवाजको आयोजना र आदर्श आजाद कलेजको सहकार्यमा दुई दिने नमुना संसद कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन सत्र प्रशिक्षण सत्र र समापन सत्र गरी तीन चरणमा सञ्चालन भएको उक्त कार्यक्रममा १०० वर्षपछिको भक्तपुर नारायणमान बिजुक्छे ( रोहित)ज्यूले लेख्नुभएको पुस्तक प्रदर्शन गरेर कार्यक्रम उद्घाटन भएको थियो। उक्त कार्यक्रममा सभापति आदर्श आजाद कलेजको प्रधानाध्यापक चक्रबहादुर चाकतु ज्यूले पुस्तक प्रदर्शन गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्नुहुँदै चाकतु ज्यूले १०० वर्षपछिको भक्तपुर पुस्तकको सुन्दर परिकल्पनाहरू मध्य ख्वप विश्वविद्यालय स्थापना गरी शिक्षालाई उत्पादनमूलक श्रमसँग जोड्न र शिक्षा प्रणालीलाई वैज्ञानिक अनुसन्धानमुलक र व्यावहारिक शिक्षाको लागि ख्वप विश्वविद्यालय परिकल्पना गर्नु सान्दर्भिक रहेको बताउनुभयो। विद्यार्थीलाई संसदीय प्रणाली व्यवहारिक रूपमा बुझ्न समेत अनुरोध गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्नुहुँदै कार्यक्रमको सहजकर्ता अधिवक्ता शिवराम बोहजज्यूले कानुन निर्माणको प्रक्रियामा सांसदहरूको अहम भूमिका हुने र बहुमत जनताको पक्षमा कानुन निर्माण भए मात्र विधिको शासन कायम हुने बताउनुभयो। प्रशिक्षण सत्रमा प्रमुख प्रशिक्षक श्रीराम श्रेष्ठले राज्य सञ्चालन प्रणाली संसदीय इतिहास नेपालको संवैधानिक इतिहास संघीयताको अवस्था लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो। सँगसँगै सरकारका तीन अङ्ग व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको काम कर्तव्य अधिकारको बारेमा र शक्ति पृथकीकरणको बारेमा समेत प्रशिक्षण दिनुभएको थियो। संसदको विशेष अधिकार र कानुन निर्माणका विभिन्न चरणको बारेमा समेत प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणको क्रममा प्रशिक्षक रेजिना तामाङले संसदमा प्रयोग हुने शब्दहरू र नियमहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो। नमुना संसदका नमुना सांसदहरूले नेपाललाई ज्ञान विज्ञानको थलो बनाउन ख्वप विश्वविद्यालय विधेयक पारित हुनुपर्ने विषय नमुना संसदको आकस्मिक समय शून्य समय र विशेष समयमा सँगसँगै सैद्धान्तिक छलफल दफावार छलफल र सम्बन्धित मन्त्रीको जवाफमा ती विषय उठेको थियो। ख्वप विश्वविद्यालय विधेयक पारित नगरेर सरकारले वर्षौंदेखि शिक्षा क्षेत्रमा धोका दिइरहेको विषय समेत उठेको थियो। पढाइको लागि करोडौं रकम घरखेत बेचेर विदेशमा गएर पढ्नुपर्ने बाध्यता रोक्न र वैज्ञानिक अनुसन्धानमुलक शिक्षा प्रणाली विकासको लागि ख्वप विश्वविद्यालय आवश्यक रहेको औल्याएको थियो। कार्यक्रमको समापन समारोहमा श्रमिक साप्ताहिक सम्पादकीय सङ्कलन पुस्तक प्रदर्शन गरेर समापन समारोह कार्यक्रम सम्पन्न भएको थियो। उक्त समापन समारोहमा सभापति चक्रबहादुर चाकतु विशेष अतिथि शुभद्रा दुवाल र अतिथिमा अधिवक्ता शिवराम बोहजु हुनुहुन्थ्यो। कार्यक्रममा कानुनी आवाजको तर्फबाट प्रशिक्षकहरू श्रीराम श्रेष्ठ रेजिना तामाङ अञ्जली नेपाली सुजाता राई कोपिला शिजापती सुस्मिता यादव दीपक शाह मातीका राई उपस्थित हुनुहुन्थ्यो। प्रशिक्षकहरूलाई विशेष उपहार वितरण सँगसँगै कार्यक्रम समापन भएको थियो।।
फाेटाेमा हेर्नुहाेस्...
