पन्ध्रौँ एकताको महाधिवेशन सम्पन्न गर्नुपर्ने


बैशाख १७, २०८३, बिहीबार | साँझ ०६:११ बजे | 90


पन्ध्रौँ एकताको महाधिवेशन सम्पन्न गर्नुपर्ने

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बागमती प्रदेशका वर्तमान निवर्तमान जिल्ला सभापति र सांसद , भ्रातृ संस्था का नेताहरूसँग आज छलफल र परामर्श गरेका छन्। 
उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीको आफ्नो  जिल्लाको वस्तुस्थिति र आगामी पन्ध्रौँ महाधिवेशन मा कसरी प्रस्तुत हुने भन्ने विषयमा आ आफ्ना धारणा राखेका थिए। 
अधिकांश वक्ताहरुले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गरेर दुवै पक्षलाई मान्य हुने महाधिवेशन आयोजक समिति गठन गरेर पन्ध्रौँ एकताको महाधिवेशन सम्पन्न गर्नु पर्ने विचार व्यक्त गरेका थिए। साथै विशेष महाधिवेशन पक्षधरले भने जस्तै  यस अघि नवीकरण गरिसकेका सदस्यहरुले पुन सदस्यता अद्यावधिक गर्न पर्ने भएमा निरंकुशतन्त्र को विरुद्ध र लामो लोकतान्त्रिक व्यवस्थाको स्थापनाको लागि योगदान पुर्याएका धेरै सदस्यहरू सदस्यताबाट वञ्चित हुने परिस्थिति निर्माण हुने विचार व्यक्त गरे। 
कार्यक्रमा आफ्नो मन्तव्य राख्दै नेता डा शेखर कोइरालाले यस्तो अवस्थामा आफूले पनि सदस्यता अद्यावधिक नगर्ने बताउनु भयो। उहाँले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको विभाजन रोक्न नेताहरूसँग अनौपचारिक सम्बाद भईरहेको जानकारी गराउनुभयो ।
कार्यक्रम मा नेताहरु रामनाथ अधिकारी, रमेश महत ,राजेश्वर खनाल, नरोत्तम वैद्य, विनोद कायस्थ, गणेशमान चक्रधर , लोकेश ढकाल , बद्री अर्याल ,राजु श्रेष्ठ, शिव प्रसाद हुमागाईं ,रामकृष्ण चित्रकार , निलकाजी शाक्य, विजय गोपाल श्रेष्ठ , बिजुला बर्मा , डिलमाया अधिकारी सिंह, अमृत मान महर्जन , उपेन्द्र लम्साल , धर्म लामिछाने लगायत दुई दर्जन भन्दा बढि नेताहरुले समसामयिक विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Comments