हामी रातभर सुत्न सकेका छैनौं
बैशाख १६, २०८३, बुधबार | राति ०९:०३ बजे | 60
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारीक्षेत्रमा गएराति परेको अविरल वर्षापछि स्थानीय बस्तीमा माटो र हिलो पसेको छ। डाँडामा गरिएको व्यापक प्लटिङ क्षेत्रबाट बगेको लेदो सिधै घरभित्र छिरेपछि स्थानीयवासी त्रसित बनेका हुन्।
एक स्थानीय जोन लामाले मध्यरातमा वर्षासँगै आएको हिलो र लेदोले घर–आँगन पूरै ढाकिएकोले आफु रातभर निदाउन नसकेको बताए । उनले भने, “हिजो रातिदेखि परेको पानीले हाम्रो बस्ती नै जोखिममा पार्यो। हामी रातभर सुत्न सकेका छैनौं। घर–आँगन लेदोले भरिएको छ। प्लानिङका कारण अरू समयमा पनि हामीले अनावश्यक जोखिम र तनाव खेप्नुपरेको छ। यस विषयमा हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।” लामाले निरन्तर वर्षासँगै जोखिम बढ्दै जाँदा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफुहरु चिन्तित भएको समेत बताए।
