तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा राजीनामा घोषणा
बैशाख १६, २०८३, बुधबार | साँझ ०५:०० बजे | 45
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले पार्टी केन्द्रीय कार्यालयमार्फत पत्र जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्।
राजीनामा पत्रमा गुरुङले आफूलाई संगठनको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै पछिल्लो राजनीतिक परिस्थिति, संगठनभित्रको आवश्यक सुधार तथा आगामी कार्यदिशालाई ध्यानमा राख्दै पद छोड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले तरुण दललाई अझ प्रभावकारी, सशक्त र एकताबद्ध बनाउँदै अघि बढाउन नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्न आवश्यक ठानेको बताएका छन्।
पत्रमा उनले संगठनभित्र रहेका चुनौतीहरू, आगामी महाधिवेशन, र पार्टीको नीतिगत मार्गदर्शनअनुसार युवाहरूलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, उनले सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै संगठनलाई अझ मजबुत बनाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
गुरुङले आफ्नो कार्यकालमा साथ दिने पार्टी नेतृत्व, केन्द्रीय समिति, जिल्ला तथा स्थानीय तहका कार्यकर्ताप्रति कृतज्ञता प्रकट गरेका छन्। उनले भविष्यमा पनि पार्टी र संगठनप्रति आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो, जसले देशभर युवाहरूलाई राजनीतिक रूपमा संगठित गर्ने भूमिका खेल्दै आएको छ।
फाेटाेमा हेर्नुहाेस्...
.png)