भक्तपुरमा बुद्ध जयन्तीको अवसरमा ‘शान्तिदीप यात्रा’ हुने
बैशाख १४, २०८३, सोमबार | राति ०७:०२ बजे | 85
भक्तपुर, वैशाख — २५८० औँ बुद्ध जयन्ती (वैशाख पूर्णिमा) को अवसरमा भक्तपुरमा ‘शान्तिदीप यात्रा’ आयोजना गरिने भएको छ। युवा बौद्ध समूहले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरिएको छ।
कार्यक्रम आगामी वैशाख १७ गते आइतबार आयोजना हुनेछ। आयोजकका अनुसार सहभागीहरू बेलुकी ५:०० बजे उपस्थित भई ५:३० बजेबाट शान्तिदीप यात्रा सुरु गरिनेछ। यात्रा दीपंकर प्रज्ञाशील महाविहार, दबाथु, भक्तपुरबाट सुरु हुने जनाइएको छ।
आयोजकले बुद्ध जयन्तीको पावन अवसरमा मानव जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शान्ति सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ। बुद्ध जयन्तीका अवसरमा देशका विभिन्न स्थानमा यस्तै शान्ति र्याली, दीप प्रज्वलन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने परम्परा रहेको छ ।
कार्यक्रम ‘युवा बौद्ध समूह, भक्तपुर (YBAB)’ ले आयोजना गर्न लागेको हो। आयोजकले सबै श्रद्धालु तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई शान्ति र सद्भावको सन्देश फैलाउन अनुरोध गरेको छ।
