डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर


बैशाख १२, २०८३, शनिबार | साँझ ०६:३९ बजे | 65


डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर

धुलिखेल/नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिताको भरमा मात्र अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनु आजको अनिवार्य आवश्यकता भएको उनको भनाइ छ । बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धि अभिमुखीकरण कार्यक्रमको शनिबार समापन सत्रमा बोल्दै अध्यक्ष मगरले यो धारणा राखेका हुन् । “खोजमूलक पत्रकारितामार्फत एआई जस्ता प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा केन्द्रित हुनु आजको आवश्यकता हो,“ उनले भने, “पत्रकार महिलाहरूलाई प्रविधिमैत्री बनाउन र सामाजिक विकासका मुद्दा गहिराइबाट उठाउन यस कार्यक्रमले विशेष मद्दत पुग्नेछ ।“ अध्यक्ष मगरले निजी र सामुदायिक सञ्चारमाध्यमले आमसञ्चारको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै, सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने परिपत्र सच्याएर सबै सञ्चारमाध्यमले पाउने वातावरण बनाउन माग गरे । पत्रकार महासंघ बागमती प्रदेशको ध्यानाकर्षणपत्र बुझ्दै सञ्चारमन्त्रीले यसबारे गृहकार्य भइरहेको र साना तथा स्वरोजगारमुखी मिडियाको पक्षमा सरकार रहेको जानकारी दिएको बताए । साथै उनले विज्ञापन वितरणमा देखिएको विकृति अन्त्यका लागि बिचौलियामुक्त र निष्पक्ष प्रणाली अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रमका सभाध्यक्ष एवं सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिममा आर्जित सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै, आगामी दिनमा यस्ता कार्यक्रम अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सामाजिक सञ्जालको बढ्दो प्रभाव र महिला पत्रकारको पलायन रोक्न यस्ता सशक्तीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । दुई दिने प्रशिक्षणमा सरिता दाहालले महिला पत्रकारको सुरक्षा र लैंगिक समानता, नितु पण्डितले पत्रकार आचारसंहिता र फेक न्युज, तथा अजय शर्माले एआई प्रयोग गरी समाचार सामग्री निर्माणबारे प्रशिक्षण दिए । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २१ जना क्रियाशील महिला पत्रकारको सहभागिता रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर

Comments