रास्वपा चाँगुले ५ वर्षको रणनीतिक योजना निर्माण गर्ने


बैशाख १२, २०८३, शनिबार | साँझ ०५:३२ बजे | 135


रास्वपा चाँगुले ५ वर्षको रणनीतिक योजना निर्माण गर्ने

​चाँगुनारायण, भक्तपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको सर्वाङ्गीण विकासका लागि हचुवाका भरमा नभई विज्ञहरूको बृहत् छलफल र सुझावका आधारमा आगामी ५ वर्षको रणनीतिक योजना निर्माण गर्ने भएको छ। "समृद्ध र आत्मनिर्भर चाँगुनारायण" निर्माणको महाअभियान अन्तर्गत नगरका प्रबुद्ध व्यक्तित्वहरूसँगको परामर्शलाई नै योजना निर्माणको मुख्य आधार बनाइने समितिले जनाएको छ। ​वैज्ञानिक योजना र ठोस लक्ष्य ​विज्ञहरूको राय समेटेर तयार पारिने यो योजनाले नगरको आर्थिक र सामाजिक स्वरूप बदल्ने लक्ष्य राखेको नगर सभापति राेशन थापाले जानकारी गराए । योजनाका प्रमुख संकल्पहरू यस प्रकार रहेका छन्: ​

आर्थिक लक्ष्य: आगामी ५ वर्षभित्र नगरपालिकाको कुल वार्षिक बजेटलाई ३ अर्ब रुपैयाँ पुर्‍याउने। ​आन्तरिक स्रोतको विकास: हालको परनिर्भरतालाई अन्त्य गर्दै नगरको आन्तरिक आम्दानीलाई वार्षिक १.५ अर्ब रुपैयाँ पुर्‍याउने ठोस रोडम्याप तयार गरिनेछ। ​नेपालकै पहिलो स्मार्ट हेरिटेज सिटी: विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मौलिकतालाई अक्षुण्ण राख्दै प्रविधिमैत्री आधुनिक सहरका रूपमा विकास गर्ने। ​विज्ञ र युवा: विकासका दुई पिलर ​रास्वपा चाँगुनारायणले विकासमा 'विज्ञको ज्ञान र युवाको श्रम' लाई एकीकृत गर्ने रणनीति लिएको छ। नगरभित्रै रहेका वा बाहिर रहेका विषयगत विज्ञहरू (इन्जिनियर, अर्थशास्त्री, संस्कृतिविद्, र वातावरणविद्) सँगको सघन छलफलबाट प्राप्त निचोडलाई नीतिगत रूप दिइनेछ। ​"हामी परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर तथ्याङ्क र विज्ञतामा आधारित योजना बनाउन चाहन्छौँ। चाँगुनारायणका विज्ञहरूसँगको बृहत् छलफलबाट निस्कने निष्कर्ष नै हाम्रो ५ वर्षको मार्गचित्र हुनेछ," नगर समितिका सभापती थापाले स्पष्ट पारेका छन् । ​लगानी र रोजगारीमा केन्द्रित योजना ​विज्ञहरूको सुझावका आधारमा निर्माण हुने योजनाले विशेष गरी निम्न क्षेत्रमा ध्यान केन्द्रित गर्नेछ: ​सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनबाट राजस्व वृद्धि । ​

आधुनिक कृषि र स्थानीय उत्पादनको बजारीकरण

​पारदर्शी र भ्रष्टाचारमुक्त डिजिटल सुशासन । ​युवा स्वरोजगारका लागि नगरस्तरीय स्टार्टअप कोषको स्थापना । ​रास्वपा चाँगुनारायणको यो सक्रियताले नगरबासीहरूमा नयाँ आशा जगाउने नगर सभापति थापाकाे विश्वास छ। विज्ञहरूको बौद्धिक हस्तक्षेप र युवाहरूको उत्साहजनक सहभागिताले चाँगुनारायणलाई छिट्टै नै एक आत्मनिर्भर र गौरवशाली नगर बनाउने लक्ष्य लिइएको छ। थापाका अनुसार आज भएकाे छलफल पहिलाे चरणकाे मात्र हाे । याे क्रमलाई अब अभियान कै रूपमा अगाडि बढाएर बृहत् याेजना बनाउने लक्ष्य लिइएकाे छ ।

फाेटाेमा हेर्नुहाेस्...

रास्वपा चाँगुले ५ वर्षको रणनीतिक योजना निर्माण गर्ने

Comments