जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र
बैशाख १०, २०८३, बिहीबार | राति १०:३९ बजे | 65
भक्तपुर, वैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले सरकारी सञ्चार नीतिप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले पछिल्लो समय सरकारले सरकारी सूचना तथा विज्ञापनहरू सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णयले निजी सञ्चारमाध्यममाथि अन्याय भएको जनाएको छ। यस्तो निर्णयले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा खुला बजार व्यवस्थाको मर्म विपरीत जाने महासंघको ठहर छ।
ज्ञापनपत्रमा सञ्चारमाध्यमहरू लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो नीतिले झन् समस्यालाई गम्भीर बनाउने चेतावनी दिइएको छ। साथै, निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।
महासंघले सरकारसँग पटक–पटक संवाद गर्दा पनि सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको जनाएको छ। देशभरका जिल्ला शाखामार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरमा पनि उक्त ज्ञापनपत्र बुझाइएको हो।
यसअघि पनि महासंघले यस्तै निर्णयविरुद्ध देशव्यापी दबाबमूलक कार्यक्रम घोषणा गरिसकेको छ।
फाेटाेमा हेर्नुहाेस्...
.png)