भक्तपुर लेखापढी कानून व्यवसायीमाथि धरपकडको विरोध, पेशागत अधिकार हनन भएको आरोप


बैशाख १०, २०८३, बिहीबार | साँझ ०४:४७ बजे | 275


भक्तपुर लेखापढी कानून व्यवसायीमाथि धरपकडको विरोध, पेशागत अधिकार हनन भएको आरोप

भक्तपुर, वैशाख — नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, जिल्ला समिति भक्तपुरले आफ्ना सदस्यहरूमाथि प्रहरीले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ।

एसोसिएसनद्वारा जारी विज्ञप्तिमा कानुन बमोजिम अनुमति लिएर पेशागत कार्य गरिरहेका लेखापढी व्यवसायीहरूलाई बिना कारण पक्राउ गरिएको उल्लेख गर्दै त्यसप्रति विरोध जनाइएको छ। पत्रमा विशेष गरी मालपोत तथा भूमि सम्बन्धी कार्यालय परिसरबाट व्यवसायीहरूलाई पक्राउ गरिएको घटनालाई “अनुचित र गैरकानुनी” भन्दै आपत्ति जनाइएको छ।

एसोसिएसनका अनुसार लेखापढी व्यवसायीहरू भू–सेवा केन्द्र सञ्चालन निर्देशिका अनुसार अनुमति लिएर सेवा दिँदै आएका छन्। तर पछिल्लो समय राज्यका निकायहरूले उनीहरूलाई ‘बिचौलिया’को संज्ञा दिँदै नियन्त्रणमा लिने कार्यले पेशागत मर्यादामाथि आघात पुगेको बताइएको छ।

यसअघि पनि विभिन्न स्थानमा यस्तै घटनापछि लेखापढी व्यवसायीहरूले आन्दोलन, पेनडाउन र विरोध कार्यक्रम गर्दै आएका छन्। सरकारले सरकारी कार्यालयमा अनधिकृत पहुँच रोक्न कडाइ गरेपछि यस्तो विवाद बढ्दै गएको हो ।

एसोसिएसनले सेवाग्राहीको काम सहजीकरण गर्ने आफ्नो भूमिकालाई सम्मान गर्नुपर्ने माग गर्दै यस्ता गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, पेशागत अधिकार सुनिश्चित नगरे आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने चेतावनी पनि दिइएको छ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर लेखापढी कानून व्यवसायीमाथि धरपकडको विरोध, पेशागत अधिकार हनन भएको आरोप

Comments