भक्तपुरमा लेखापढी व्यवसायी पक्राउप्रति विरोध
बैशाख ९, २०८३, बुधबार | राति ०७:३७ बजे | 860
भक्तपुरमा लेखापढी व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति कानुन अध्ययनसम्बद्ध संस्थाले विरोध जनाएको छ।
कानुन अध्ययन समाज–नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १ गते भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा सेवा लिन पुगेका लेखापढी व्यवसायीहरूलाई बिना कारण प्रहरीले कार्यस्थलबाट नियन्त्रणमा लिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा ‘बिचौलिया नियन्त्रण’ को नाममा ११ जना लेखापढी व्यवसायीलाई पक्राउ गरिएको उल्लेख गर्दै उनीहरूलाई तत्काल बिना शर्त रिहा गर्न माग गरिएको छ। साथै, कानुनी सेवा दिइरहेका व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ नगर्न प्रशासनसँग आग्रह गरिएको छ।
संस्थाले यस्ता गतिविधिले कानुनी पेशामाथि असर पर्ने भन्दै यथाशीघ्र समस्या समाधान गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ध्यानाकर्षण गराएको छ।
फाेटाेमा हेर्नुहाेस्...
