लोकगायक नीलमणि भण्डारीलाई नगदसहित सम्मान


बैशाख ६, २०८३, आइतबार | विहान ०८:५५ बजे | 155


लोकगायक नीलमणि भण्डारीलाई नगदसहित सम्मान

भोजपुर जिल्लाको दिङ्ला गहतेमा जन्मेका लोकगायक नीलमणि भण्डारीलाई शब्दयात्रा प्रकाशनले १० हजार रुपियाँ आर्थिक सहयोगसहित सम्मानपत्र समर्पण गरेको छ । उहाँले धेरैवटा गीत, भजन र कवितामा आफ्नो स्वर, शब्द र शिल्प दिनुभएको छ । उहाँ शारीरिक रूपमा अशक्त तथा बौद्धिक र मानसिक रूपमा सशक्त हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले उहाँजस्तै साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष खडा गरेको छ । सो कोष अन्तर्गतको अक्षयकोषमा धुलिखेलनिवासी केशव खुलाल क्षत्रीले पनि आफ्ना पिता टीकाबहादुर खुलाल क्षत्री र माता रमाकुमारी खुलाल क्षत्रीको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गर्नुभएको छ । उक्त कोषको ब्याजबाट लोकगायक नीलमणि भण्डारीमा आर्थिक सहयोगसहित सम्मानपत्र समर्पण गरिएको हो । उहाँमा समर्पण गरिएको सम्मानपत्रमा कोष व्यवस्थापक केशव खुलाल क्षत्री, शब्दयात्रा प्रकाशनको संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्री र प्रथम साङ्गीतिक सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटाको हस्तखत रहेको छ । सम्मान गर्ने क्रममा रुद्राक्षमाला र उपहार हरि मञ्जुश्रीले, भेटी रकम कोष व्यवस्थापकका तर्फबाट पूर्वप्रशासक तथा लेखक जयनारायण नेपालले र सम्मानपत्र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलति प्रा. डा कुलप्रसाद कोइरालाले समर्पण गर्नुभएको थियो । अक्षरसेवी सहयोग कोषबाट यसअघि विभिन्न लेखक, पत्रकार, कलाकारलाई ८६ हजार रुपियाँ आर्थिक सहयोग गरिसकिएको छ ।

Comments