पेट्रोलियम मूल्यवृद्धिविरुद्ध माओवादीको आपत्ति, संघर्षको चेतावनी
बैशाख ४, २०८३, शुक्रबार | दिउँसो ०३:५५ बजे | 200
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई तत्काल निर्णय फिर्ता लिन माग गरेको छ।
पार्टीको केन्द्रीय समितिले जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाउँदा जनताको दैनिक जीवन अत्यन्त कष्टकर बनेको उल्लेख गरिएको छ। हालै नेपाल आयल निगम ले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ ।
विज्ञप्तिमा मूल्यवृद्धिले गरिब, मजदुर, विद्यार्थी तथा सर्वसाधारणलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरिएको छ। साथै, पार्टीले पेट्रोलियम पदार्थसँगै ग्यास र निर्माण सामग्रीको मूल्यसमेत बढेकाले समग्र अर्थतन्त्रमा दबाब परेको जनाएको छ।
माओवादीले चेतावनी दिँदै यदि मूल्यवृद्धि फिर्ता नगरिए देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने उल्लेख गरेको छ। त्यस्तै, पार्टीले विद्यार्थी र किसानका लागि सहुलियत दिन तथा पेट्रोलियम पदार्थमा कर छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा “जनताको जीवन सहज बनाउन सरकार गम्भीर बन्नुपर्छ” भन्दै आन्दोलनको संकेतसमेत दिइएको छ।
फाेटाेमा हेर्नुहाेस्...
