यसकारण महिलालाई नकिंजू खचा तान्न लगाइएको रहेछ...
बैशाख ३, २०८३, बिहीबार | विहान १०:१४ बजे | 130
वैशाख १ गते, जात्राको उत्साहका बीच भैरवनाथ र श्री भद्रकाली अजिमाको बीचमा 'झगडा' भएको छ। त्यसैले, भद्रकाली अजिमा रिसाएर आफ्नो माइती (ईछिटोल) मा बस्नुभएको छ। वैशाख ३ गते, हामी श्री भद्रकाली गुठीका जधारी र लिबी परिवार नयाँ साडी (परसी) र विशेष पूजा सामग्री लिएर अजिमालाई फकाउन ईछिटोल पुग्नेछौँ। रिसाउनुभएकी अजिमालाई फकाएर, नयाँ साडी चढाएर पुन: आफ्नै घर (तमारी) फर्काउने यो परम्परालाई 'द्यो क्वहानेगु' भनिन्छ।
ईछिटोलबाट विधिवत पूजापछि अजिमालाई रथमा विराजमान गराई भव्य रूपमा तमारी सम्म ल्याइनेछ। अत बिस्का जात्राको यो पावन अवसरमा एउटा विशेष र आत्मीय सोच अगाडि सारेका छौँ।
पहिले पुरुषहरूले मात्र अजिमाको रथ तान्ने परम्परा रहिआएकोमा, यस वर्ष हामी हाम्रा सम्पूर्ण आमा, दिदीबहिनी तथा चेलीहरूलाई पनि यस कार्यमा सहभागी भई अजिमाको आशीर्वाद लिन र जात्राको रौनकता बढाउन हार्दिक अनुरोध गर्दछौँ। महिलाहरूको उत्साहजनक सहभागिताले यस जात्रालाई अझै विशेष र समावेशी बनाउने हाम्रो विश्वास छ। साथै, भक्तपुरका सम्पूर्ण दाजुभाइहरूलाई हाम्रा दिदीबहिनीहरू खट तान्न अगाडि बढ्दा उहाँहरूको हौसला बढाइदिन र ताली बजाएर साथ दिनुहुन विनम्र अनुरोध गर्दछौँ। आउनुहोस्, यसपालिको जात्रामा हाम्रा दिदीबहिनीहरूलाई पनि अजिमाको खट तानेर सेवा गर्ने अवसर दिऔँ र जात्रालाई अझै रमाइलो बनाऔँ।
(आयोजकको निमन्त्रणा)
