सय वर्षपछिको भक्तपुर पुस्तक चर्चाः कसले के भने ?
चैत ३०, २०८२, सोमबार | विहान ०८:१३ बजे | 65
भक्तपुर, २९ चैत । नारायणमान बिजुक्छे (रोहित)द्वारा लिखित तथा भक्तपुर नगरपालिकाद्वारा परिमार्जनसहित प्रकाशित तेस्रो संस्करणको “सय वर्ष पछिको भक्तपुर” पुस्तक परिचर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका वरिष्ठ राजनीतिज्ञ बिजुक्छेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम ख्वप इन्जिनियरिङ कलेज, लिवालीमा सम्पन्न भएको हो ।
अध्यक्ष बिजुक्छेले भक्तपुर विश्व सम्पदा सूचीमा सूचीकृत सहर भएकाले यसलाई ‘टेस्ट ट्युब’का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। राजधानी नजिकै रहेको विशेषताले भक्तपुरलाई नमुना सहरका रूपमा अगाडि बढाउन सकिने उहाँको धारणा थियो।
देशमा कुनै ठूला रोग वा प्राकृतिक विपत्ति नआएमा पुस्तकले अपेक्षा गरेभन्दा पनि विकास हुने र यसले सही दिशा दिने विश्वास व्यक्त गर्दै भक्तपुरलाई सांस्कृतिक नगरका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सांस्कृतिक नगर घोषणा गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
साथै, संग्रहालयलाई शिक्षासँग जोडेर विकास गर्नुपर्नेमा जोड दिँदै मूर्त तथा अमूर्त सम्पदाको संरक्षण अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकप्रति जनचासो बढ्दै गएको उल्लेख गर्दै त्यसैका आधारमा भक्तपुर नगरपालिकाले यसको प्रकाशन गर्ने निष्कर्षमा पुगेको र आज उक्त पुस्तक सार्वजनिक गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तकमा भक्तपुरको भविष्यसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, यातायातलगायतका विषयहरू समेटिएका छन् र नगरका जनता तथा जनशक्तिलाई कार्यान्वयनतर्फ अग्रसर हुन निर्देश गरिएको छ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक आधार तयार भइसकेको र नगर उच्च शिक्षाको केन्द्रका रूपमा विकसित भइरहेको धारणा व्यक्त गर्नुभयो। साथै, घरघरमै स्वास्थ्य सेवा पुर्याउने नीति तथा अस्पताल सञ्चालनमार्फत भक्तपुरलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गरिएको उहाँको भनाइ थियो।
उहाँले सामाजिक रूपान्तरणका कार्यक्रमहरूले सम्बन्धित जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अनुभवलाई आत्मसात् गर्दा मात्र लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्दै भक्तपुरबारे अध्ययन–अनुसन्धान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। साथै, भक्तपुरका लेखकहरूको सपना साकार हुँदै नगर निरन्तर अगाडि बढिरहेको र यस पुस्तकमा केवल भक्तपुर मात्र नभई आगामी ५० वर्षपछिको नेपालको समग्र रुपरेखा समेत प्रस्तुत गरिएको बताउनुभयो।
उपप्रमुख रजनी जोशीले देशको कला, संस्कृति र समग्र विकासको परिकल्पनालाई आधार मानेर उक्त पुस्तक तयार गरिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार पुस्तकले नयाँ पुस्तालाई सचेत र मार्गदर्शित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, जसको दूरगामी दृष्टिलाई भक्तपुर नगरपालिकाले मार्गदर्शनका रूपमा लिएको छ।
उहाँले विगतका विपत्तिहरू, विशेषतः २०७२ सालको भूकम्पबाट प्राप्त सिकाइलाई मनन गर्दै सम्पदा संरक्षण र पुनर्निर्माणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो। ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो।
त्यसैगरी, निर्वाचनपछिका अवधिमा नगरपालिकाले सिर्जित सम्पदाहरूको पुनर्निर्माण र संरक्षणलाई मोडलका रूपमा अगाडि बढाएको र यस कार्यको सफलतामा पुस्तकले समेत महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
उहाँले विज्ञान र प्रविधिलाई आत्मसात गर्दै सम्पदा संरक्षण र सांस्कृतिक वातावरण जोगाउने प्रयास भइरहेको उल्लेख गर्दै पुस्तकको तेस्रो संस्करण प्रकाशन हुनु सुखद पक्ष भएको बताउनुभयो।
पुरातत्व विभाग, काठमाडौंका महानिर्देशक सौभाग्य प्रधानाङ्गले उक्त पुस्तक आफूले पटक–पटक अध्ययन गरेको उल्लेख गर्दै यसलाई सम्पदा संरक्षणमा लाग्ने व्यक्तिहरू र विद्यार्थीहरूका लागि मार्गदर्शक कृतिका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार पुस्तकले संरक्षणको सही बाटो देखाउने महत्वपूर्ण सन्देश दिएको छ।
उहाँले लेखकले प्रस्तुत गरेको अवधारणालाई गुरुयोजनाका रूपमा लिन सकिने बताउँदै सहरको समग्र विकास कसरी गर्ने भन्ने स्पष्ट दृष्टिकोण पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो। संस्कृति संरक्षणसँगै विकासलाई सन्तुलित रूपमा अगाडि बढाउने अवधारणा अत्यन्त महत्वपूर्ण रहेको उहाँको धारणा थियो, जसका कारण पुस्तकको तेस्रो संस्करणसम्म प्रकाशन हुन सकेको उहाँले बताउनुभयो।
उहाँले पुस्तकमा चिन्तन, मनन, कथा र संवादजस्ता विभिन्न विधाहरू प्रयोग गरिएको उल्लेख गर्दै यसले भक्तपुरको महत्व उजागर गरेको बताउनुभयो। साथै, नगरपालिकाले पुस्तकमा प्रस्तुत विचारहरूलाई अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरले आफ्नो सांस्कृतिक पहिचानलाई जोगाउँदै उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यस कार्यप्रति सराहना व्यक्त गर्नुभयो। उहाँले पुस्तकमा प्रस्तुत विचारहरू यथार्थपरक रहेको र छोटो अवधिमै ती परिकल्पनाहरू क्रमशः साकार हुँदै गएको बताउनुभयो।
उहाँका अनुसार इच्छाशक्ति भए असम्भव केही पनि नहुने उदाहरण भक्तपुरले प्रस्तुत गरेको छ। करिब २४ वर्ष नपुग्दै पुस्तकमा उल्लेख गरिएका धेरै लक्ष्यहरू व्यवहारमा देखिन थालेको उल्लेख गर्दै उहाँले यसका लागि भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो र सम्पूर्ण भक्तपुरवासीले पनि गर्व गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र सम्वर्द्धनका लागि पुस्तक अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै भक्तपुरले परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै आएको बताउनुभयो। राजधानी सहरको ऐतिहासिक गरिमा अझै पनि प्रत्यक्ष वा परोक्ष रूपमा कायम रहेको उल्लेख गर्दै उहाँले भक्तपुरलाई नेपालको सांस्कृतिक राजधानीका रूपमा व्याख्या गर्नुभयो।
मानवशास्त्री सुरेश ढकालले भविष्य निर्माणका लागि इतिहासलाई आधार बनाउनुपर्नेमा जोड दिँदै पुस्तकले यही सन्देश स्पष्ट रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँका अनुसार यदि आफ्नो भविष्य निर्माण गर्न चाहिन्छ भने त्यो इतिहासको जगमा आधारित हुनुपर्छ, अन्यथा विकासको दिशामा विचलन आउन सक्ने खतरा रहन्छ।
विद्यार्थीको दृष्टिकोणबाट हेर्दा पुस्तकको महत्वपूर्ण पक्ष भक्तपुरको भविष्य कस्तो बनाउने भन्ने विषयलाई यसको ऐतिहासिक पृष्ठभूमिसँग जोडेर प्रस्तुत गरिएको रहेको उहाँले उल्लेख गर्नुभयो। पुस्तकले पाठकलाई आफ्नो शहरको विगतबारे जानकारी लिन र त्यसैका आधारमा भविष्यको योजना बनाउन प्रेरित गर्ने उहाँको भनाइ थियो।
उहाँले विकासको नाममा विनाश नहोस् भन्ने चेतनासमेत पुस्तकले दिएको उल्लेख गर्दै यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, पुस्तकमा संस्कृतिप्रति गहिरो मोह र इतिहासप्रति सम्मान व्यक्त गरिएको बताउँदै यसले भक्तपुरको समग्र परिवर्तनका लागि स्पष्ट ‘रोडम्याप’ प्रस्तुत गरेको धारणा राख्नुभयो।
पद्म सुन्दर जोशीले सपना देखाउने काम नेतृत्वको हुने र त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी सामूहिक प्रयासमार्फत पूरा हुने बताउनुभयो। उहाँले पुस्तकमा प्रस्तुत गरिएको ५० वर्षअघिदेखि ५० वर्षपछिसम्मको दृष्टिकोणलाई समाजको परिवर्तनशील गतिसँग जोड्दै स्पष्ट खाका बिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
उहाँले समाज तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा योजनाबद्ध दिशानिर्देशन आवश्यक रहेको उल्लेख गर्दै पुस्तकले त्यही ऊर्जा र मार्गनिर्देशन प्रदान गरेको बताउनुभयो। साथै, यसलाई कार्यान्वयनतर्फ अगाडि बढाउने क्रममा भक्तपुर नगरपालिकाको सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
उहाँले दुई महत्वपूर्ण पक्ष औंल्याउँदै पहिलो, भक्तपुरका फल्चामा बस्ने बृद्धबृद्धाहरूले झल्काउने सामाजिक जीवन र सामुदायिक संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो। दोस्रो, विकास अनुसन्धान, नवप्रवर्तन र नयाँ आविष्कारबिना सम्भव नहुने उल्लेख गर्दै विश्वस्तरमा अमेरिका र चीनबीचको प्रतिस्पर्धाको उदाहरण प्रस्तुत गर्नुभयो।
त्यसैगरी, ख्वप विश्वविद्यालयको परिकल्पनालाई सफल बनाउन सामूहिकता, गुणात्मक परिवर्तन र दीर्घकालीन सोच अपरिहार्य रहेको उहाँको भनाइ थियो। उहाँले वर्तमान समाज विगतभन्दा फरक अवस्थामा पुगेको उल्लेख गर्दै अब इतिहासबाट सिक्दै नयाँ दिशातर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले पुस्तकले समाजलाई ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्दै हाम्रो समाजमा लिपिबद्ध गर्ने परम्परा कमजोर रहेको, पुर्खाबाट प्राप्त ज्ञान क्रमशः हराउँदै गइरहेको अवस्थामा त्यसलाई संरक्षण र दस्तावेजीकरण गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
सम्पदाविद् रविन्द्र पुरीले करिब १० वर्षअघि यस पुस्तकबारे अङ्ग्रेजी भाषामा परिचर्चा गर्ने अवसर पाएको स्मरण गर्दै पुस्तकको दूरदर्शी सोच आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँका अनुसार उक्त कृतिले केवल भक्तपुरको मात्र होइन, सिङ्गो नेपालको भविष्यको परिकल्पना प्रस्तुत गरेको छ।
उहाँले पुस्तकमा उल्लेख गरिएका धेरै अवधारणाहरू हाल पनि व्यवहारमा उतारिँदै गएको उल्लेख गर्दै विशेषगरी सवारी साधनमुक्त सहरको अवधारणा महत्वपूर्ण रहेको बताउनुभयो। यस सन्दर्भमा तमारी र दत्तात्रय क्षेत्रलाई पार्किङ निषेध क्षेत्रका रूपमा विकास गर्ने सोच पुस्तकमै समेटिएको र त्यसले सहरको मौलिकता जोगाउन मद्दत पुर्याउने उहाँको धारणा थियो।
स्रष्टा समाज भक्तपुरका लक्ष्मण जोशीले उक्त पुस्तकलाई भक्तपुर नगरपालिकाको मार्गदर्शन मात्र नभई समग्र गुरुयोजनाका रूपमा व्याख्या गर्नुभयो। उहाँले नगरलाई उत्कृष्ट बनाउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने तथा सम्पदाको विकासका लागि स्पष्ट खाका कोर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँका अनुसार पुस्तक केवल भक्तपुरका लागि मात्र नभई समग्र देशकै लागि मार्गदर्शक कृतिका रूपमा रहेको छ। यद्यपि, विभिन्न बाधा–अड्चनका कारण सांस्कृतिक नगर घोषणा गर्ने प्रयास सफल हुन नसकेको उल्लेख गर्दै उहाँले भक्तपुर वस्तुतः सांस्कृतिक नगर नै रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले भक्तपुरवासीले अपेक्षा गरेको ख्वप विश्वविद्यालय हालसम्म स्थापना हुन नसकेकोप्रति ध्यानाकर्षण गराउँदै शासक दलको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको टिप्पणी गर्नुभयो। त्यसका बाबजुद पनि भक्तपुर नगरपालिका कला, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणका क्षेत्रमा निरन्तर अगाडि बढिरहेको उहाँले बताउनुभयो।
अन्त्यमा, भक्तपुर नगरपालिकाले देश र जनताको निस्वार्थ सेवामा समर्पित भएर काम गरिरहेको उल्लेख गर्दै पुस्तक अत्यन्त पठनीय र उपयोगी रहेको उहाँले बताउनुभयो।
राजेन्द्र कायस्थले पुस्तकको भूमिका प्रस्तुत गर्दै यसको परिचय, विशेषता तथा हालसम्म भक्तपुरमा भएका विकास र गतिविधिबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले पुस्तकले भक्तपुरको कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै लेखकमा दिगो विकासप्रति दूरदर्शी सोच रहेको बताउनुभयो।
उहाँका अनुसार उक्त पुस्तक एक किसिमको गुरुयोजना तथा मार्गदर्शन दिने माध्यमका रूपमा रहेको छ, जसले भक्तपुरको अतीत र भविष्यलाई स्पष्ट ‘रोडम्याप’का रूपमा प्रस्तुत गरेको छ।
आर्किटेक्ट रविना शिल्पकारले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै भक्तपुरमा वर्षभरि हरेक महिनाजसो जात्रा, पूजा तथा सांस्कृतिक पर्वहरू मनाइने भएकाले यी सम्पदाहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथै, पछिल्लो समय परम्परागत शैलीसँग नमिल्ने नयाँ घरहरूको निर्माण तथा अन्य कारणले शहरको मौलिक स्वरूपमा असर पर्न थालेको उल्लेख गर्नुभयो।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पुस्तक केवल भक्तपुर नगरपालिकाका लागि मात्र नभई समग्र देशका लागि मार्गदर्शक दस्तावेजका रूपमा रहेको बताउनुभयो। उहाँका अनुसार पुस्तक कर्मचारी तथा जनप्रतिनिधिहरूका लागि पनि अनुकरणीय रहेको छ।
उहाँले भक्तपुरलाई आशाको केन्द्रविन्दुका रूपमा चित्रित गर्दै नगरको विकासमा पुस्तकले महत्वपूर्ण मार्गनिर्देशन गरेको उल्लेख गर्नुभयो। साथै, स्थानीय तहका लागि भक्तपुर नगरपालिका उदाहरणीय बनेको उहाँको भनाइ थियो।
कार्यक्रममा भक्तपुर नगरपालिका ९ न वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उहाँका अनुसार पुस्तक कर्मचारी तथा जनप्रतिनिधिहरूका लागि पनि अनुकरणीय रहेको छ।
उहाँले भक्तपुरलाई आशाको केन्द्रविन्दुका रूपमा चित्रित गर्दै नगरको विकासमा पुस्तकले महत्वपूर्ण मार्गनिर्देशन गरेको उल्लेख गर्नुभयो। साथै, स्थानीय तहका लागि भक्तपुर नगरपालिका उदाहरणीय बनेको उहाँको भनाइ थियो।
कार्यक्रममा भक्तपुर नगरपालिका ९ न वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
