‘लंगडो सरकार नभनौं’ 


चैत २९, २०८२, आइतबार | राति ०८:५४ बजे | 305


‘लंगडो सरकार नभनौं’ 

भक्तपुर । विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक बहसहरूमा ‘लंगडो सरकार’ जस्ता शब्द प्रयोग भएकोप्रति अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने संघ–संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यस्तो शब्दावलीले अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानमा चोट पु¥याउने भन्दै यस्ता अभिव्यक्ति प्रयोग नगर्न आग्रह गरेका छन् ।
एक्सेस प्लानेट अर्गनाइजेशन सूर्यविनायक भक्तपुरले आइतबार पत्रकारहरुसँंग भक्तपुरमा गरेको अन्तरक्रियामा ‘लंगडो’ जस्ता शब्दहरू शारीरिक अवस्थासँग जोडिएका अपमानजनक संकेत बोकेको बताइयो । यो शव्दलाई राजनीतिक वा प्रशासनिक कमजोरी जनाउन प्रयोग गर्नु अनुचित र असंवेदनशील हो, अपांगता क्षेत्रमा राष्टिय र अन्तराष्टिय क्षेत्रमा कार्यरत एवं आयोजक एक्सेस प्लानेट अर्गनाइजेशनकी म्यानेजिंग डिरेक्टर लक्ष्मी नेपालले भनिन्, यस्ता शब्दले समाजमा अपांगता भएका व्यक्तिहरूप्रति नकारात्मक धारणा अझ बलियो बनाउने गरेको छ । उनले थपिन्, सरकारको आलोचना गर्नु स्वाभाविक हो, तर त्यसका लागि अपांगता जोडिएका शब्द प्रयोग गर्नुले हामीलाई हेला गर्ने सन्देश दिन्छ । यसले समावेशी समाज निर्माणमा बाधा पु¥याउँछ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई पनि भाषा प्रयोगमा सचेत रहन आग्रह गरिएको थियो । पत्रकारिता आचारसंहिताअनुसार पनि कुनै समूह वा व्यक्तिको गरिमा घटाउने शब्द प्रयोग नगर्नु पर्ने उल्लेख गरिएको छ । कार्यक्रममा राजनीतिक टिप्पणी गर्दा पनि मर्यादित, तथ्यमा आधारित र सबैलाई सम्मान गर्ने भाषा प्रयोग गर्नुपर्नेमा जोड दिइयो । समाजमा समावेशीता र समानताको भावना बलियो बनाउन भाषा प्रयोगमा संवेदनशीलता अत्यावश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । कार्यक्रममा आयोजक संस्थाकी कम्युनिकेशन अफिसर मनिषा पालले सहजीकरण गरिदिएकी थिइन् । 
 

फाेटाेमा हेर्नुहाेस्...

‘लंगडो सरकार नभनौं’ 

Comments