रास्वपा चाँगुनारायण नगर समितिले विज्ञ समूहमा आवद्ध हुन सार्वजनिक आह्वान
चैत २९, २०८२, आइतबार | साँझ ०६:२८ बजे | 60
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको समग्र विकास योजना निर्माण गर्ने उद्देश्यसहित विज्ञ समूहमा आवद्ध हुन सार्वजनिक आह्वान गरेको छ । समितिका सभापती रोशन थापाले जारी गरेको सूचनामा शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास, पूर्वाधार, कृषि, नवप्रवर्तन तथा स्टार्टअप, विज्ञान, सञ्चार तथा सूचना प्रविधि, उत्पादन, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन, वातावरण लगायत २५ क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरिएको छ । नगरको दीर्घकालीन र दिगो विकासका लागि विज्ञहरूको सुझाव तथा अनुभवलाई समेट्दै एकीकृत योजना निर्माण गर्ने लक्ष्य राखिएको समितिका सभापती थापाले जानकारी दिए । थापाका अनुसार स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार मानेर वैज्ञानिक, व्यावहारिक तथा परिणाममुखी योजना तयार गरिनेछ । यसका लागि विविध क्षेत्रका पेशागत विज्ञहरूलाई एकै प्लेटफर्ममा ल्याउने तथा युवा र अनुभवलाई एउटै ठाउँमा ल्याउने प्रयास स्वरूप यो आह्वान गरिएको हो । रास्वपाले इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरण, अनुभव र योगदान गर्न चाहेको क्षेत्र स्पष्ट खुलाएर आवेदन दिन अनुरोध पनि गरेको छ । आवेदन नगर समितिले जारी गरेको क्युआर स्क्यान गरि सहजै अनलाइनमार्फट बुझाउन सकिने नगरा सभापती थापाले जानकारी दिनुभयो । विज्ञ समूहमार्फत तयार पारिने योजना आगामी दिनमा चाँगुनारायण नगरको विकास मार्गचित्रका रूपमा उपयोग गरिने नगरा सभापती थापाको विश्वास छ । समितिले यस पहलले स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने र नागरिक सहभागितालाई प्रवद्र्धन गर्ने अपेक्षा समेत गरेको छ ।
