यसरी चुनिए स्वतन्त्र पत्रकार संघ केन्द्रको नेतृत्व
चैत २२, २०८२, आइतबार | विहान ०८:५४ बजे | 150
गैंडाकोट । स्वतन्त्र पत्रकार संघ नेपालको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन नवलपरासी जिल्लाको नवलपुर गैडाकोटमा सकिएको छ । साधारणसभा तथा अधिवेशनले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहेका बास्तोलालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा तीर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भए । त्यसैगरी, सदस्यमा युक्तप्रसाद सुवेदी (बागलुङ), कृष्णबहादुर रायमाझी (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा (भक्तपुर), सुरेशप्रसाद सैंजु (भक्तपुर), पृथ्वीराज श्रेष्ठ (भक्तपुर) तथा सागर कार्की (कास्की) निर्वाचित भए ।
साधारणसभापछि भएको अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदबारी परेको थियो । निवर्तमान अध्यक्ष बास्तोला र वरिष्ठ उपाध्यक्ष केब्री सम्राटको उम्मेदबारी परेको थियो । साथै उपाध्यक्ष पदमा पनि तीर्सनालक्ष्मी गुरुङ र महेशजंग कुँवर गरी दुई जनाको उम्मेदबारी परेको थियो ।
तीर्सना निवर्तमान उपाध्यक्ष हुन् भने महेशजंग निवर्तमान महासचिव थिए । त्यस्तै महासचिव पदमा सुरेश श्रेष्ठ र कृष्ण किसी दुई जनाको उम्मेदबारी परेको थियो । सुरेश निवर्तमान उपमहासचिव थिए भने किसी केन्द्रिय पार्षद् ।
सचिव पदमा भने कल्यान पन्त सर्वसम्मत भएका थिए । साथै कोषाध्यक्षमा पनि नमस्कार शाह र उपेश नौवाग दुईजनाको उम्मेदबारी परेको थियो ।
सर्वसम्मत हुन नसकेपछि विहान १० बजेदेखि साँंझसम्म सर्वसम्मतिको प्रयास चलेको थियो । तर अन्तिम समयसम्म पुग्दा पनि सर्वसम्मत हुन सकेको थिएन । त्यसपछि केबी सम्राट नेतृत्वको काठमाडौं उपत्यका प्यानलका उम्मेदबारहरुले उम्मेदबारी फिर्ता लिएर मार्गप्रसस्त गरिदिएका थिए । अध्यक्ष पदका उम्मेदबार केवी सम्राट, उपाध्यक्ष पदका उम्मेदबार महेशजंग कुँंवर र महासचिव पदका उम्मेदबार कृष्ण किसीले राति उम्मेबारी फिर्ता लिई मार्ग प्रसस्त गरिदिएका थिए । तथापि कोषाध्यक्ष पदका उम्मेदबार उपेश नौबागले उम्मेदबारी फिर्ता लिएनन् । त्यसपछि कोषाध्यक्ष एउटा पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा नमस्कार शाहले १६ मत पाइ विजयी भएका थिए । उपेशले भने १५ मत पाएका थिए । कुल ३८ मतदाता रहेकोमा ३१ मत मात्रै खसेको थियो । सवैजना सदस्यहरु भने सर्वसम्मत चुनिएका थिए ।
शुक्रबार साधारणसभाको उदघाटन सत्रमा पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्व अमात्यले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्न सक्नुपर्ने धारणा व्यक्त गरे । ‘हामी सबै स्वतन्त्र हुन सक्छौं, तर त्यसका लागि चाहना आवश्यक हुन्छ’ उनले भने । उनले स्वतन्त्र पत्रकारिताले निष्पक्षता कायम गर्ने उल्लेख गर्दै कुनै पनि दलले स्वतन्त्र पत्रकारलाई आफ्नो प्रभावमा राख्न नसक्ने भन्दै सबै पत्रकारलाई स्वतन्त्र बनाउन सकिने उल्लेख बताए ।
कार्यक्रममा संघ अध्यक्ष बास्तोलाले संस्था स्थापनाको पृष्ठभूमि स्पष्ट पारे । उनले २०६८ सालमा पत्रकार महासंघमा देखिएको दलीय भागबण्डाको विरोधमा स्वतन्त्र पत्रकार संघको यात्रा सुरु भएको स्मरण गरे । कास्कीबाट सुरु भएको संघ अहिले देशका विभिन्न २९ जिल्लामा विस्तार भइसकेको उल्लेख गर्दै उनले दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारको साझा मञ्चका रूपमा संघलाई विकास गरिएको बताए ।
‘पत्रकारले मतदान गर्नुबाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु हुँदैन,’ उनले भने । उनका अनुसार पछिल्लो समय पत्रकारिताको सम्मान घट्नुमा पत्रकारिता पेसामा स्वतन्त्रताको अभाव प्रमुख कारण हो । त्यसकारण पत्रकार र पत्रकारिता दुवै स्वतन्त्र हुनुपर्नेमा संघ दृढ रहेको भन्दै सदस्यता बिस्तारलाई देशव्यापी बनाइने बताए । उनले स्वतन्त्र पत्रकार संघ निस्क्रिय पत्रकारहरूको संस्था नभई सक्रिय र प्रतिबद्ध पत्रकारको साझा संगठन भएको उल्लेख गरे । संघमा आबद्ध सबै पत्रकार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व गर्न सके मात्र संगठन बलियो बन्नेमा बास्तोलाको जोड थियो ।
संघको साधारणसभा तथा अधिवेशनमा ११ जिल्लाका ६० जना प्रतिनिधि सहभागी थिए ।
भक्तपुरबाट तीन केन्द्रिय सदस्य निर्वाचित
देशभरमै सक्रिय जिलको रुपमा रहेको भक्तपुरबाट तीनजना केन्द्रिय सदस्यहरु निर्वाचित हुन सफल भए । निर्वाचित केन्द्रिय सदस्यहरुमा प्रेमध्वज लामा (भक्तपुर), सुरेशप्रसाद सैंजू (भक्तपुर), पृथ्वीराज श्रेष्ठ (मध्यपुर थिमि, भक्तपुर) रहेका छन् । केन्द्रिय अधिवेशनमा पनि भक्तपुरबाट सहभागीहरुले आआफनो धारणा राखेका थिए । भक्तपुरबाट प्रतितिनित्व गरेका सवैजना पत्रकारहरुले आआफनो धारणा राखेका थिए । भक्तपुरबाट आठ जना केन्द्रिय अधिवेशनमा सहभागी बनेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
