भक्तपुरमा वैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना हुने
चैत १७, २०८२, मङ्गलबार | साँझ ०६:५९ बजे | 120
भक्तपुर । सरकारले आगामी २ वैशाखदेखि देशैभरबाट एकैचोटी दोस्रो राष्ट्रिय आर्थिक गाणना सुरू गर्ने भएको छ । यस क्रममा भक्तपुरमा पनि गणना हुने भएको हो । यसअघि २०७५ सालमा पहिलोपटक आर्थिक गणना भएको थियो ।
आर्थिक गणनाको उद्देश्य र तयारीका बारेमा जानकारी दिन मंगलबार भक्तपुरमा गरेको अन्तरक्रियामा गणनाका लागि गणकहरू देशभरका घरघर पुग्ने बताइयो । देशभरका उद्योग, प्रतिष्ठान, पसलहरूको आधारभूत विवरणहरु संकलन गरी तथ्यांक प्रकाशन गर्ने उद्देश्यले गणना हुने बताइयो । गणनाको नतिजाले देशको आर्थिक र अन्य सामाजिक नीति निर्माण, योजना तर्जुमा र लक्ष्य निर्धारण तथा प्रगति मापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । गणनाका क्रममा वस्तु वा सेवा उत्पादन गर्नेहरूको विवरण संकलन हुनेछ ।
कार्यक्रममा भक्तपुरका जिल्ला आर्थिक गणना अधिकारी यधु आचार्यले नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नु नै गणनाको मुख्य उद्देश्य हो । साथै, यी प्रतिष्ठानहरूको विद्यमान संरचना, आर्थिक क्षेत्र, लगानी तथा वितरण सम्बन्धी तथ्याङ्क उत्पादन गरी प्रकाशित गर्ने र सरकारलाई नियमित रूपमा उपयोगी तथ्याङ्क उपलब्ध गराउने पनि यसको उद्देश्य हो । यसका अतिरिक्त, राष्ट्रिय लेखाका अन्य अनुमानहरूको सुदृढीकरणका लागि आधारभूत तथ्याङ्क उत्पादन गर्नु, राष्ट्रिय लेखाको आधार तयार गर्नु तथा सबै प्रकारका सर्वेक्षणका लागि आधारस्वरूप नमूना ढाँचा निर्माण गर्नु पनि महत्वपूर्ण उद्देश्यहरू हुन् । यसैगरी, तथ्याङ्कीय व्यावसायिक दर्ता निर्माणका लागि आवश्यक आधार तयार गर्नु पनि आर्थिक गणनाको अर्को महत्वपूर्ण उद्देश्य हो ।
२०७५ सालको आर्थिक गाणनामा देशभर ९ लाख २३ हजार ३५६ उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको विवरण संकलन भएको थियो । यसमध्ये ५० दशमलब १ प्रतिशत दर्ता थिए भने बाँकी दर्ता भएका थिएनन् । यी प्रतिष्ठानहरूमा ३२ लाख २८ हजार ४५७ जना आबद्ध थिए, जसमध्ये पुरुष ६२ प्रतिशत र बाँकी महिला थिए । गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।
कार्यक्रममा गणनाको क्रममा सोधिने प्रश्नावलीमा संकलन गरिने विवरणहरु तथ्यांक ऐन २०७९ को दफा १० बमोजिम गोप्य रहने भएकाले निर्धक्क भएर सही तथ्यांक दिन सवैसँंग अनुरोध गरियो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गणनाको क्रममा सहयोग गर्न सम्पूर्णसँंग अनुरोध गरे ।
फाेटाेमा हेर्नुहाेस्...
