पत्रकारमाथि दुर्व्यवहार र क्यामेरा तोडफोडप्रति भर्त्सना


चैत १४, २०८२, शनिबार | राति ०९:४७ बजे | 215


पत्रकारमाथि दुर्व्यवहार र क्यामेरा तोडफोडप्रति भर्त्सना

काठमाडौं । स्वतन्त्र पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाले आन्दोलनरत नेकपा एमालेका केही कार्यकर्ताद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहार तथा समाचार संकलनका क्रममा प्रयोग गरिएको क्यामेरा तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा पत्रकारिता पेशा लोकतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने क्रममा पत्रकारमाथि आक्रमण हुनु तथा सञ्चार सामग्रीमा क्षति पुर्‍याउनु अत्यन्त निन्दनीय, गैरकानुनी र अस्वीकार्य कार्य भएको बताइएको छ।

यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्नुका साथै लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने सङ्घको भनाइ छ।

सङ्घले घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन पत्रकारको सुरक्षा सुनिश्चित गर्न राज्यका निकायलाई गम्भीर ध्यान दिन आग्रह गरिएको छ।

स्वतन्त्र पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

उक्त विज्ञप्तिमा सङ्घका अध्यक्ष कृष्णराज तिमल्सिनाले हस्ताक्षर गरेका छन्।

Comments