आजदेखि बनेपामा ङालाकेगु जात्रा


चैत १३, २०८२, शुक्रबार | विहान ०७:३० बजे | 280


आजदेखि बनेपामा ङालाकेगु जात्रा

ऐतिहासिक नगरी भक्तपुरको जीवित रुपमा पुजिने मानव समाजमा आधारित श्री नवदुर्गा देवगण जात्रा यस वर्षमा जिल्ला बाहिर ङालाकेगु जात्रा २०८२ चैत्र १३ गतेदेखि काभे्र बनेपा नगरपालिकामा सुभारम्भ भएको छ । यसैगरि क्रमश १३ गते बनेपा नगर परिक्रम गरिन्छ । बेलुका लायकु चोकमा बास बस्ने गरिन्छ । १४ गते पुन नगर परिक्रमा गरि तीनधारा चोकमा बास बस्ने, खःप्याखँ सुर गरि रात्री नाच सम्पन्न गरिन्छ । यस्तै १५ गते विहानदेखि बाराहीनाच, सिम्ह दुम्ह माछा मार्ने (ङालाकेगु) जात्रा, महाकाली नाच, साथै स्वेत भैरब ङालाकेगु जात्रा समेत सम्पन्न गरि पुन लायकु स्थान पुगेर खाना प्रसाद ग्रहण गरी राती नै देवगाणहरु तयार भई नगर परिक्रमा गरी लायकु चोकमाखः प्याखँ नाच अथवा गछि नाच प्रदर्शन गर्ने ऐतिहासिक परम्परा रहेको छ । साथै १६ गते विहान सम्म सम्पूर्ण गछि नाच प्रदर्शन गरि अन्तिम विदाइ नाच सम्पन्न गरी बनेपा नगरमा यस वर्षको नवदुर्र्गा देवगण जात्रा सम्पन्न गर्ने गरिन्छ । साथै जात्रा सम्पन्न पश्चात देवगणहरुले भोजन ग्रहण गरि पनौति नगरपालिका प्रस्थान हुने परम्परा रहेको छ । १६ गते बेलुका तिर पनौति नपामा पुगेर देवगण तयारीका साथ नगर परिक्रमा गरि पनौति नपा लायकुमा बास बस्ने परम्परा रहेको छ । त्यसै गरी १७ गते मंगलबार पुन देवगण भोजन ग्रहण गरि बेलुका लायकु चोकमाखः प्याखँ नाच अथवा गछि नाच प्रदर्शन गरि मुःबाँ जात्रा समेत सम्पन्न गरि सोहि स्थान बास बस्ने गरिन्छ । यसै गरी १८ गते बुधबार बिहान ८ बजे देखि बाराहि नाच, सिम्ह दुम्ह ङालाकेगु जात्रा, महाकाली नाच साथै स्वेत भैरव ङालाकेगु जात्रा समेत हर्ष उल्लासका सार्थ श्री नवदुर्गा देवगण जात्रा जिल्ला बाहिर यस वर्ष जात्रा सम्पन्न हुने गरिन्छ । त्यसैगरी काभे्र बनेपा नगरपालिकामा श्री नवदुर्गा देवगण जात्रा पश्चात बनेपा नपामा चण्डेश्वरी जात्राको लागि आवश्यक प्रसाद सगुन सहित नवदुर्गाको नौ वटा सुपारी मुख्य प्रसादबाट चण्डेश्वरी रथ जात्रा हुने ऐतिहासिक परम्परा रहेको यस जात्राबाट प्रसाद आदान प्रदान हुने सम्बन्ध रहेको छ । साथै काभे्रमा रहेको विभिन्न मन्दिरहरुको अगाडि नाच प्रदर्शन गरि प्रसाद आदान प्रदान गरिन्छ । साथै पनौति नगरमा ब्रम्हायणी तिर्थस्थल, इन्द्रेश्वर महादेवको पुजा ग्रहण गरि विभिन्न स्थानमा देवणन नाच प्रदर्शन गरिने गरि जात्रा सम्पन्न गर्ने ऐतिहासिक परम्परा रहेको पाइछ । यस नवदुर्गा देवगाण जात्रा संचालन गर्न विभिन्न नेवारी जातीत्व संलग्न गरि बनमाला (उजाजु) हरुको विशेष भुमिकामा संचालित देवगण जात्राबाट मानव समाजमा प्रत्यक्ष रुपमा बाजाको तालमा गीतको बोल भाषाको शब्दमा अनिवार्य दैनिक आचरणमा निर्वाह गर्नु पर्ने शिक्षा मुलक सँस्कृति मानिने परम्परा रहेको छ । साथै यस जात्राबाट पारिवारिक भूमिका, नारि बोध, चेलीको दुखेसो नाच पिडा, बाल चकचकेपन, नारी सुन्दरता, सरसफाइ शिक्षा, साकाहारी, मांसाहारी पहिचान सहकार्यको भूमिका, सामुहिक भावना विकाश, व्यक्तिगत जिम्मेवारीको महत्व रहेको देवगण जात्रामा प्रस्त रुपमा देखिन्छ । साथै पंचरंगको महत्व, दानव र देवगणको लडाई, सत्य सामु असत्यको नास हुने शिक्षा पनि यस जात्रामा संलग्न रहेको पाइन्छ । यसैगरि देवगण नाचमा नारी प्रति कुदष्टिको सजाय, नारी प्रति सम्मान, मतिना नाच, परिवार जनमा एकआपसमा सहकार्यको भूमिका समेत यस जात्राबाट शिक्षा प्रदान गरिएको पाईन्छ । यस जात्रा संचालन गर्न ऐतिहासिक परम्पार अनुसार अधिकांश भक्तजन तथा श्रद्धालु भक्तिभावको श्रद्धा, सहयोगबाट जात्रा संचालन हुने भएकोले र देवगणहरुलाई ठुलो चुनौतीहरुसँग सामना गरि मगन्ते रुपमा जात्रा संचालन गर्न बाध्यता रहेको देखिन्छ । जसरी इतिहासकालदेखि चल्दै आइरहेको परम्परा अनुसार देवगण जात्रामा नाँगो खुट्टाबाट जात्रा संचालन गर्ने देवगणहरुबाट हुने अपराध कार्यमा जोगिनुपर्ने, समयमा सुत्न नपाउने, जाड रक्सी वा कुनै पेयपदार्थबाट जात्रा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको देखिन्छ । जात्रा अवधि अधिकांश रात्री समयमा हुने भएकाले भक्तजन मार्फत विवादहरु भईरहने, कुनै ठोस आर्थिक सहयोग प्राप्त नहुने कारण देवगणहरुको व्यक्तिगत खर्च गरेर समेत जात्रा संचालन गर्नुपर्ने देवगणहरुको भनाई रहेको छ । यसैगरि देवगण जात्रामा खानाको समेत परिकार सम्बन्धी संस्कृति देखिन्छ । सोहि क्रममा प्रकृतिको समय अनुसार आफ्नो शरीरलाई जुन परिकार खाना उपयुक्त हुन्छ सोहि अनुसार जात्रामा देवगणहरुलाई चढाउने प्रसाद ग्रहण गर्ने शिक्षा दिइरहेको पाइन्छ । 
त्यस्तै गरि नवदुर्गा जात्रा वर्षभरिमा जिल्ला बाहिर जात्रा मध्ये काठमाडौं पशुपति क्षेत्र जय बागेश्वरी, टोखा नगरपालिका, चपली चुण्डीखेल, गोकर्न नगरपालिका साँखु, शंखरापुर नपा, मध्यपुर नगरपालिका, सुर्यविनायक नपा, गामचा, काभे्र जिल्ला, साँगा नाला धुलिखेल नपा, श्रीखण्डपुर, चौकोट, बनेपा नपा, पनौती नपामा हरेक वर्ष निरन्त रुपमा जात्रा हुने गर्छ ।
जात्रामा संलग्न देवगणहरु मध्ये निम्नअनुसार रहेको छ ।
बाजा समुह ः खीँबाजा, तँबाजा, कँसबाजा, डमरु
देवगण समुह ः भैरब, महाकाली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महेश्वरी, भद्रकाली
बालक देवगण ः इन्द्रायणी, दुम्ह, सिम्ह, स्वेत भैरव
भन्दारी समुह ः दातिम्हा (महालक्ष्मी), घोम्हा (गुजेकाली), झिम्हा (महादेव)
पुजारी ः नकीँ (मन्दिर पुजारी)
१९ जना देवगण समुहको परिवारलाई नवदुर्गा देवगण समुह (परिवार) जनाइन्छ ।

त्यस्तै संस्कृतिलाई आधार मानेर भक्तपुर नगरमा मात्र २१ स्थान विभिन्न टोल परिक्रमा गरि ङालाकेगु जात्रा गरि सम्पन्न गर्ने क्रममा यस वर्षमा १८ स्थानमा जात्रा सम्पन्न गरि ३ स्थानमा मात्र जात्रा गर्न बाँकी रहेको छ । जसमध्ये भनपा ५ तुलाछेँ, भनपा ६ चोछेँ गरि भनपा ४ इच्छु टोलमा अन्तिम ङालाकेगु जात्रा गरि सम्पन्न गरिन्छ । यसै गरि हरेक वर्षमा ऐतिहासिक श्री नवदुर्गा देवगण जात्रा परापुर्वकाल देखि निरन्तर रुपमा देशको जुनसुकै परिस्थितिमा पनि बन्द नभईकन संस्कृति संचालन भएको उजाजु बनमालाहरुलाई जुनसुकै दुख पिडा सहेर हरेक क्षेत्र, आर्थिक क्षेत्र, शैक्षिक क्षेत्र, व्यवसायिक क्षेत्र लगायत श्री नवदुर्गा देवगण जात्रा संचालन भएकोमा सम्पूर्णमा हार्दिक अपिल गर्न चाहन्छु । साथै यस संस्कृतिलाई दीर्घकालिन रुपमा संचालन गर्न सम्बन्धित निकाय नेपाल सरकारको अपार सहयोग गरि नेपालकै लामो जात्रा, नेपालको धरोहरलाई संरक्षण सम्बद्र्धन गर्न नयाँ पुस्तालगायत सम्पूर्ण निकायमा सादर अपेक्षा गर्दछु ।
लेखक ः नारायणमान बनमाला
सल्लाहकार
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था
 

Comments