चाँगुनारायणमा बजार अनुगमन तीव्र: अखाद्य वस्तु नष्ट, व्यवसायीलाई जरिवाना
चैत ११, २०८२, बुधबार | राति १०:२० बजे | 145
भक्तपुर, ११ चैत
उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई कडा बनाएको छ। मंगलबार तेलकोट र खरिपाटी क्षेत्रका वडा नं. ५ र ६ भित्र रहेका ९ वटा खाद्यान्न पसल, खाजाघर र ग्यास डिलरमा आकस्मिक निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नवीकरण नगरेको, म्याद नाघेका सामग्री बिक्रीका लागि राखिएको तथा बिल प्रयोग नगरेको पाइयो। ग्यास सिलिन्डर भण्डारणमा समेत त्रुटि भेटिएकाले सुधार गर्न निर्देशन दिइएको छ। व्यवसायीहरूलाई ७ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन भनिएको छ।
पटक–पटक निर्देशन दिँदा पनि सुधार नगरेको एक पसलमा म्याद गुज्रिएको कोकाकोला भेटिएपछि नष्ट गरी रु ५,००० जरिवाना गरिएको छ। साथै अन्य अखाद्य सामग्रीसमेत नष्ट गरिएको छ। साथै अखाद्य तथा म्याद नाघेका सामग्रीहरूमा लेमन फ्रेश ६ वटा, सिम्पल रोल ४ वटा, कुकीज १ बट्टा, चम्पा कोला ३० मिलि २ वटा, पनिर मसला १ बट्टा र हरियो भुटेको केराउ २५० ग्रामका ३ प्याकेट नष्ट गरिएको छ।
अनुगमनमा विभिन्न निकायका प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको सहभागिता रहेको थियो। उपभोक्ताहरूले यस्तो कदमले बजार व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)