भक्तपुरमा रात्रिकालीन पर्यटन प्रवर्द्धनका लागि आकर्षक ‘फायर शो’
चैत ८, २०८२, आइतबार | राति ०९:३० बजे | 530
भक्तपुर,
आइतबार साँझ आगोको चमकले टौमढी झिलिमिली बनेको छ। ‘सस्टेनेबल टुरिजम भक्तपुर’ अभियान अन्तर्गत ‘जन्तु फेमिली’ समूहले प्रस्तुत गरेको आकर्षक ‘फायर शो’ हेर्न स्थानीय बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
भक्तपुरको रात्रिकालीन पर्यटनलाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति र साहसिक कला संयोजन गरिएको थियो। कार्यक्रमले साँझपख पनि पर्यटकलाई नगरमा रोक्न सकिने सन्देश दिएको छ।
सांस्कृतिक अभियन्ता चन्दन ताम्रकार को नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपालसहित विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको थियो। टोलीमा नेपालका चन्दन ताम्रकार र ओसिस भाजू, बेलायतका निमी र जोस तथा ताइवानकी हुवा सहभागी थिए। अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिताले सांस्कृतिक आदानप्रदानमार्फत पर्यटन प्रवर्द्धनको सन्देश दिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य सन्देश ‘दिगो पर्यटन’ रहेको छ। अभियन्ता ताम्रकारका अनुसार भक्तपुरमा पर्यटकहरू केही समय मात्र बिताउने प्रवृत्तिलाई परिवर्तन गर्दै साँझको समय पनि आकर्षक बनाउने र बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ। “पर्यटकलाई यहाँको संस्कृति, सम्पदा र वातावरणसँग जोड्दै स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो,” उनले बताए।
न्यातापोल मन्दिर अगाडि गरिएको उक्त फायर शोले भक्तपुर साँझको समयमा पनि सुरक्षित र जीवन्त गन्तव्यका रूपमा विकास भइरहेको संकेत दिएको छ। आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भक्तपुरलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
