चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमनमा तीव्रता: म्याद गुज्रिएका सामग्री जफत


चैत ७, २०८२, शनिबार | राति ०९:५७ बजे | 425


चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमनमा तीव्रता: म्याद गुज्रिएका सामग्री जफत

भक्तपुर, चैत ७। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्रका स्थानीय बजारहरूमा अनुगमन कार्यलाई तीव्रता दिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै नगरपालिकाको अनुगमन टोलीले दुवाकोट, झौखेल लगायतका क्षेत्रमा रहेका खाद्यान्न पसल, ग्यास डिलर र राइस मिलहरूको आकस्मिक निरीक्षण गरेको हो। अनुगमन टोलीले मिति २०८२/१२/०६ मा सञ्चालन गरेको उक्त अनुगमनमा खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर, मूल्य सूची, व्यवसाय दर्ता, बिल प्रयोग लगायतका विषयमा विशेष ध्यान दिइएको थियो।

अनुगमन टोलीले चाँगुनारायण नगरपालिका वडा नं १ र २ का एनिस किराना पसल तथा ग्यास डिलर, हरिशरण राईस मिल, 
तुलसा खाध स्टोर र जनमुखि सुपर मार्टमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण नगरिएको र नापतौलका उपकरणहरू समयमा जाँच नगरेको पाइएको छ। 
त्यसैगरि ग्यास सिलिंडरको भण्डारणमा समेत त्रुटि भेटिएकाले अनुगमन टोलीले त्यसलाई छुट्टा छुट्टै भण्डारण गर्न समेत निर्देशन दिएको छ। अनुगमन टोलीले ७ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनका क्रममा अखाद्य भेटिएका ११ के. जी. हरियो केराउ, ९ के. जी. सेतो केराउ र १ लिटर रियल जुस नस्ट समेत गरिएको छ। 

अनुगमन टोलीका अनुसार, व्यवसायीहरूलाई अनिवार्य रूपमा मूल्य सूची टाँस्न, प्यान (PAN) वा भ्याट (VAT) बिलको व्यवस्था गर्न र म्याद गुज्रिएका सामग्रीहरू बिक्री वितरण नगर्न कडा निर्देशन दिइएको छ। निर्देशन पालना नगर्ने व्यवसायीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
अनुगमन टोली बजारमा आएको थाहा पाएपछि केही ग्यास व्यवसायीहरू आफ्नो पसल बन्द गरेर हिडेको समेत भेटिएको छ। अनुगमनमा नगरपालिकाका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय प्रहरीको सहभागिता रहेको थियो। उपभोक्ताहरूले पनि बजारमा हुने कालोबजारी र अखाद्य वस्तुको बिक्री वितरण रोक्न नगरपालिकाको यो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमनमा तीव्रता: म्याद गुज्रिएका सामग्री जफत

Comments