आध्यात्मिक चेतना जगाउँदै योग–ध्यान कार्यक्रम सम्पन्न, नवरात्र साधनाबाट जीवनशैली सुधारको सन्देश
चैत ६, २०८२, शुक्रबार | विहान ११:२४ बजे | 270
भक्तपुर । समाजमा शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनको महत्वलाई उजागर गर्ने उद्देश्यले Future Sign Foundation को आयोजना तथा ShreeHari Self-Realization Foundation को संयोजकत्वमा योग, ध्यान तथा प्राणायाम कक्षा सफलतापूर्वक सम्पन्न भएको छ।
U.K. बाट आएका स्वयंसेवक विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रम भक्तपुरको खौमा टोलस्थित खोपछे गेस्ट हाउसको खुला प्राङ्गणमा बिहान ७ देखि ८ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रम आयोजना गरिएको आयोजक निरु तुलाधरले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले योग, ध्यान र प्राणायाममार्फत शारीरिक स्फूर्ति, मानसिक शान्ति तथा आन्तरिक आनन्दको अनुभूति गरेका थिए।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा योग साधक चन्द्र हरि कायस्थले “योग साधना प्रदर्शनको मार्ग नभई स्व–दर्शनको मार्ग हो”
भन्दै योगको गहिरो आध्यात्मिक पक्षबारे प्रकाश पार्नुभयो।
यसै सन्दर्भमा, आज मिति २०७२ साल चैत्र ६ गते, शिक्षक एवं योग साधक चन्द्र हरि कायस्थले नवरात्र साधना अन्तर्गत दोस्रो दिनको उपवास (जल उपवास) गर्दै पनि निरन्तर योग अभ्यास गराइरहनुभएको जानकारी दिनुभयो।
उहाँले साधनाको मूल सन्देश दिँदै भन्नुभयो—“खानामा मात्र शक्ति हुँदैन, वास्तविक शक्ति ध्यान र निद्राबाट प्राप्त हुन्छ; खानाले शरीर निर्माण मात्र गर्छ।”
उहाँका अनुसार, नवरात्रको जल उपवास साधना उहाँले तेस्रो पटक गर्दै हुनुहुन्छ, जसले आत्मअनुशासन, मानसिक स्थिरता र आध्यात्मिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूलाई श्वास–प्रश्वास (प्राणायाम), ध्यान तथा सकारात्मक चिन्तनमार्फत “म स्वस्थ छु, म खुशी छु, म आनन्दित छु”
भन्ने भाव प्रत्येक श्वासमा अनुभव गर्न प्रेरित गरिएको थियो।
कार्यक्रमपछि सहभागीहरूले आफ्नो शारीरिक ऊर्जा, मानसिक शान्ति तथा आन्तरिक सन्तुलनमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाएका थिए। कार्यक्रम संयोजक उपमा प्रजापतिले यस्ता कार्यक्रमले युवाहरूलाई सही जीवनदृष्टि दिन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा “मानिसको बन्धन पनि मन नै हो र मोक्षको मार्ग पनि मनबाटै सुरु हुन्छ”
भन्ने सन्देशका साथ कार्यक्रम शान्तिपूर्वक सम्पन्न गरिएको थियो।
सामाजिक सन्देश
योग, ध्यान, उपवास र सकारात्मक चिन्तनले जीवनलाई सन्तुलित, स्वस्थ र आनन्दित बनाउँछ।
आजको व्यस्त जीवनशैलीमा यी अभ्यासहरू अपनाउनु नै साँचो समृद्ध जीवनको आधार हो।
