राप्रपा चाँगुनारायणद्वारा आन्दोलनको घोषणा
चैत ४, २०८२, बुधबार | विहान १०:५७ बजे | 485
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको चाँगुनारायणले भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र अवैध रूपमा माटो तथा बालुवा उत्खनन र मापदण्डविपरीत इट्टा भट्टा सञ्चालन भइरहेको भन्दै गम्भीर आपत्ति र चिन्ता व्यक्त गरेको छ।
नगर अध्यक्ष रमेस अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकाका विभिन्न स्थानमा रातिको समयमा समेत माटो र बालुवा उत्खनन तथा ढुवानी भइरहेको विषयमा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता र सरोकारवालाबाट पटक–पटक गुनासो आएको उल्लेख गर्दै ७ बुँदे आन्दाेलनकाे घाेषणा समेत गरेकाे छ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्डका रूपमा रहेको स्थानीय सरकार जनभावनाको कदर गर्दै विधिको शासन स्थापना गर्न केन्द्रित हुनुपर्नेमा वर्तमान अवस्थामा यस चाँगुनारायण नगरपालिकाको कार्यशैली ठिक विपरित देखिएको छ । विगत केही समयदेखि यस नगर
क्षेत्रभित्र मौलाउँदै गएको नीतिगत विचलन, वातावरणीय विनाश र प्रशासनिक अराजकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
स्थानीय स्रोत र साधनको समुचित परिचालन गरी नगरवासीको जीवनस्तर उकास्नु पर्नेमा सीमित व्यक्ति र समूहको स्वार्थ पूर्ति गर्नका लागि राज्य संयन्त्रको दुरुपयोग हुनु खेदजनक छ । यसका विरुद्ध हामीले पटक-पटक रचनात्मक सुझाव र ध्यानाकर्षण गराउँदा समेत नगरपालिका प्रशासन र नेतृत्वले
देखाएको उदासीनताले हामीलाई बाध्य भएर सडक संघर्षको बाटो रोज्न विवश तुल्याएको छ ।
हाम्रा मुख्य सरोकार र मागहरू निम्न बमोजिम रहेका छन्
१. प्राकृतिक स्रोतको अवैध दोहन रोक्काः मापदण्ड विपरीत भइरहेको बालुवा तथा माटोको अनियन्त्रित उत्खनन र ढुवानीले वातावरणीय सन्तुलन बिगारेको छ । यसलाई तत्काल कानुनी दायरामा ल्याई अवैध उत्खननमा संलग्नहरूलाई कडा कारबाही गरियोस्।
२. ईट्टा उद्योगको नियमनः वातावरणीय प्रभाव मूल्याङ्कन नगरी र नवीकरण प्रक्रिया पुरा नगरी
सञ्चालनमा रहेका ईट्टा भट्टाहरूले जनस्वास्थ्यमा गम्भीर असर पारेका छन् । यस्ता उद्योगहरूलाई तत्काल कानुनी र प्राविधिक मापदण्डभित्र ल्याइयोस्।
३. विषादीयुक्त कृषि उपजको नियन्त्रणः टनेल खेतीका नाममा अनियन्त्रित र घातक विषादीको प्रयोग भइरहेको छ। जनस्वास्थ्यमाथि भइरहेको यो खेलबाड रोक्न प्रभावकारी प्राविधिक अनुगमन र अर्गानिक उत्पादनको प्रोत्साहनका लागि ठोस कदम चालियोस् ।
४ अव्यवस्थित सहरीकरण र प्लटिङ्गमा रोक: ढल, खानेपानी र सडक जस्ता न्यूनतम पूर्वाधार विना नै भइरहेका जग्गा प्लानिङ्ग र तीव्र बसोबास विस्तारलाई नियमन गरियोस्। “पहिलो पूर्वाधार, अनि मात्र बसोबास“ को नीति कडाइका साथ लागू गरियोस्।
५. पारदर्शी कर्मचारी नियुक्ति र सुशासन नगरपालिकाको प्रशासनिक संयन्त्रमा बिचौलियाहरूको प्रभाव अन्त्य गरियोस्। मापदण्ड मिचेर र शक्तिको आडमा गरिएका गैरकानुनी कर्मचारी नियुक्तिहरू खारेज गरी योग्यता र क्षमताका आधारमा पारदर्शी प्रक्रिया अपनाइयोस्।
६ शिक्षा क्षेत्रमा सुधारः सामुदायिक विद्यालयहरूको स्तरोन्नति र गुणस्तर सुधार गर्नुको साटो विद्यालय ‘मर्ज’ गर्ने जनविरोधी नीति तत्काल फिर्ता लिइयोस् । सरकारी विद्यालयहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउन बन्द गरियोस्।
७ सम्पदा र वातावरण संरक्षणः ऐतिहासिक मन्दिर, ढुङ्गेधारा र पाटी पौवा जस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ठोस बजेट विनियोजन गरियोस्। फोहोरमैला व्यवस्थापनको
वैज्ञानिक र दिगो समाधान खोजियोस्।
संघर्षका कार्यक्रमहरू:
हाम्रा जायज मागहरूलाई सम्बोधन गरी सुशासन कायम गर्न दबाब दिने उद्देश्यले हामी देहाय बमोजिमका शान्तिपूर्ण विरोधका कार्यक्रमहरू घोषणा गर्दछौं:
* पत्रकार सम्मेलन मार्फत तथ्यहरू सार्वजनिक गर्ने र नगर कार्यपालिका प्रमुख मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने।
* नगरका सबै वडाहरूमा स्थानीय जनसमुदायको ऐक्यवद्धताका लागि ‘हस्ताक्षर संकलन ‘ अभियान सञ्चालन गर्ने।
* समस्याग्रस्त र प्रभावित वडाहरूमा दबाबमूलक धर्ना कार्यक्रम आयोजना गर्ने ।
* नगरपालिकाको मुख्य कार्यालय घेराउ र धर्ना कार्यक्रम |
* मागहरू पूरा गर्न दिइएको समय सीमा समाप्त भएपश्चात् नगरपालिकाको कार्यालयमा ‘प्रतीकात्मक तालाबन्दी गरी कामकाज ठप्प पार्ने ।
अन्तमा, यो आन्दोलन कुनै व्यक्ति वा संस्थाको विरुद्ध नभई समग्र नगरको विकास र विधिको शासन स्थापनाका लागि हो। यस ऐतिहासिक र न्यायपूर्ण संघर्षमा सम्पूर्ण नगरवासी, नागरिक समाज, सञ्चारकर्मी, र पेसाकर्मीहरूलाई सक्रिय सहभागिता र ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछौं।
फाेटाेमा हेर्नुहाेस्...
