चुनाव हारिन्, तर वाचा बिर्सिनन् : शान्ति पाख्रिनद्वारा वृद्ध आमाको आँखाको उपचार
चैत ४, २०८२, बुधबार | विहान १०:४४ बजे | 155
मोरङ । मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएकी शान्ति पाख्रिनले चुनावमा पराजित भए पनि आफ्नो मानवीय वाचा भने पूरा गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ।
चुनावी अभियानका क्रममा केराबारी क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै गर्दा उहाँले एक वृद्ध आमासँग भेट गर्नुभएको थियो। ती आमाको आँखामा गम्भीर समस्या रहेको देखेपछि पाख्रिन भावुक हुँदै “चुनाव सकिएपछि तपाईंको आँखाको उपचार गराइदिन्छु” भन्ने प्रतिबद्धता जनाउनुभएको थियो।
निर्वाचन परिणामअनुसार श्रम संस्कृति पार्टीबाट पाख्रिनले १७ हजारभन्दा बढी मत प्राप्त गर्नुभए पनि जित हासिल गर्न सक्नुभएन। तर परिणाम सार्वजनिक भएको दुई दिनमै उहाँले आफ्नो वाचा सम्झिँदै ती वृद्ध आमालाई अस्पतालसम्म पुर्याएर उपचारको सम्पूर्ण व्यवस्था मिलाउनुभएको हो।
उहाँको पहलमा ती आमाको आँखाको जाँच तथा आवश्यक उपचार प्रक्रिया अघि बढाइएको छ। आर्थिक अभावका कारण लामो समयदेखि उपचार गर्न नसकिरहेकी ती आमाका लागि पाख्रिनको सहयोग जीवनमा ठूलो राहत बनेको स्थानीयवासीहरूले बताएका छन्।
यस घटनाले राजनीतिमा केवल जित र हार मात्रै होइन, मानवीय संवेदना, इमानदारी र वाचा पूरा गर्ने संस्कार पनि उत्तिकै महत्वपूर्ण हुने सन्देश दिएको छ। पछिल्लो समय नेताप्रति बढ्दो अविश्वासका बीच पाख्रिनको यो कदमले सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता कार्यहरूले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्छ। चुनाव जित्नु मात्रै लक्ष्य नभई समाजप्रति जिम्मेवारी बोध हुनु आवश्यक रहेको उनीहरूको धारणा छ।
शान्ति पाख्रिनको यस कार्यलाई धेरैले प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा समेत उहाँको प्रशंसा भइरहेको छ, जहाँ प्रयोगकर्ताहरूले “राजनीति सेवा हो” भन्ने सन्देशलाई उहाँले व्यवहारमा उतारेको टिप्पणी गरेका छन्।
