चाँगुनारायणमा अवैध माटो–बालुवा उत्खनन र इट्टा भट्टा सञ्चालनबारे रास्वपाको आपत्ति


चैत १, २०८२, आइतबार | साँझ ०५:०९ बजे | 1975


चाँगुनारायणमा अवैध माटो–बालुवा उत्खनन र इट्टा भट्टा सञ्चालनबारे रास्वपाको आपत्ति

भक्तपुर, चैत १ — राष्ट्रिय स्वतन्त्र पार्टी को चाँगुनारायण नगर समितिले भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र अवैध रूपमा माटो तथा बालुवा उत्खनन र मापदण्डविपरीत इट्टा भट्टा सञ्चालन भइरहेको भन्दै गम्भीर आपत्ति र चिन्ता व्यक्त गरेको छ।

समितिका सभापति रोशन थापा ले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकाका विभिन्न स्थानमा रातिको समयमा समेत माटो र बालुवा उत्खनन तथा ढुवानी भइरहेको विषयमा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता र सरोकारवालाबाट पटक–पटक गुनासो आएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यस्ता गतिविधि राजनीतिक संरक्षण, प्रशासनिक बेवास्ता तथा नियामक निकायहरूको कमजोरी बिना सम्भव नहुने दाबी गरिएको छ। सम्बन्धित निकायहरू जिम्मेवार र सक्रिय भएको भए अवैध गतिविधि यति व्यापक रूपमा फैलिन नसक्ने समितिको ठहर छ।

रास्वपाले अवैध उत्खनन र ढुवानीले स्थानीय वातावरणमा नकारात्मक असर पार्नुका साथै बासिन्दाको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको जनाएको छ। साथै नगर क्षेत्रमा सञ्चालन भइरहेका केही इट्टा भट्टाहरूले वातावरणीय मापदण्ड, कानुनी प्रक्रिया तथा स्थानीय समुदायको हितलाई बेवास्ता गर्दै सञ्चालन भइरहेको आरोप पनि उठाइएको छ।

समितिले चाँगुनारायण नगरपालिकाभित्र भइरहेको अवैध माटो तथा बालुवा उत्खनन र ढुवानी तत्काल बन्द गरी संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाही गर्न माग गरेको छ। त्यस्तै, वातावरणीय मापदण्ड र कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका इट्टा भट्टाको छानबिन गरी अवैध रूपमा सञ्चालन भएका भट्टा बन्द गर्नुपर्ने माग पनि गरिएको छ।

विज्ञप्तिमा यस्ता गतिविधिमा राजनीतिक वा प्रशासनिक संरक्षण भएको भए त्यसको निष्पक्ष छानबिन गर्न र प्राकृतिक स्रोत संरक्षण तथा वातावरणीय सुरक्षाका लागि नियमित तथा प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्न पनि आग्रह गरिएको छ।

सम्बन्धित निकायहरूले अविलम्ब प्रभावकारी कदम नचाले नागरिकसँग मिलेर चरणबद्ध आन्दोलन र जनदबाब सिर्जना गर्न बाध्य हुने चेतावनी पनि रास्वपाले दिएको छ। प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय न्याय र सुशासनका पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायणमा अवैध माटो–बालुवा उत्खनन र इट्टा भट्टा सञ्चालनबारे रास्वपाको आपत्ति

Comments