जहाँं उम्मेदबारले एक पैसा पनि खर्च नगरी चुनाव लड्छ...


फाल्गुन २७, २०८२, बुधबार | राति १०:०७ बजे | 465


जहाँं उम्मेदबारले एक पैसा पनि खर्च नगरी चुनाव लड्छ...

भक्तपुर । नेपालको निर्वाचन राजनीतिमा पछिल्लो समय चुनावी खर्चको चर्चा बढ्दो छ । धेरै राजनीतिक दलमा उम्मेदवार बन्नका लागि नै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने र चुनावी अभियानमा करोडौँ रुपैयाँसम्म खर्च हुने गुनासो सुनिँदै आएको छ । तर यस्तो प्रवृत्तिबीच फरक अभ्यास गर्दै आएको दल हो नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ।
भक्तपुर क्षेत्रलगायतबाट प्रतिनिधि सभाको निर्वाचनमा उठेका नेमकिपाका उम्मेदवारले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणले यही फरक अभ्यासलाई देखाउँछ । उम्मेदवारले बुझाएको विवरण अनुसार चुनाव प्रचारका विभिन्न शीर्षकमा खर्च गरिएको रकम शून्य देखाइएको छ ।
दाखिला गरिएको विवरणमा मिडिया प्रचारप्रसार, प्रचार सामग्री, पार्टी कार्यालय सञ्चालन, छापा तथा विद्युतीय माध्यम, माइकिङ, सवारी साधन, दैनिक खर्च तथा अन्य प्रचार प्रसारजस्ता शीर्षकहरू उल्लेख छन् । तर ती सबै शीर्षकमा खर्च रकमको ठाउँमा कुनै रकम उल्लेख गरिएको छैन । यसको अर्थ, उम्मेदवारले व्यक्तिगत रूपमा कुनै आर्थिक खर्च नगरी चुनाव प्रचार सञ्चालन गरेको देखिन्छ।
नेपालको चुनावी राजनीतिमा यस्तो दृश्य असामान्य मानिन्छ । अधिकांश दलका उम्मेदवारहरूले टिकट पाउनकै लागि ठूलो रकम खर्च गर्नुपर्ने आरोप लाग्ने गरेको छ । चुनाव सुरु भएपछि भने पोस्टर, ब्यानर, गाडी, माइकिङ, भोजभतेर, कार्यकर्ता परिचालन, सामाजिक सञ्जाल प्रचार लगायतका शीर्षकमा करोडौँ रुपैयाँ खर्च हुने गरेको चर्चा राजनीतिक वृत्तमा सामान्य जस्तै बनेको छ। तर नेमकिपाको अभ्यास भने यसभन्दा बिल्कुल फरक देखिन्छ। पार्टीका कार्यकर्ता र समर्थकहरूले स्वेच्छिक रूपमा प्रचार गर्ने, घरदैलो गर्ने र जनतासँग प्रत्यक्ष संवाद गर्ने परम्परा रहेको बताइन्छ । यही कारणले उम्मेदवारले व्यक्तिगत रूपमा एक पैसा पनि खर्च गर्नुपर्ने अवस्था नआउने पार्टीका नेताहरू बताउँछन् ।
भक्तपुरमा नेमकिपाको राजनीतिक इतिहास पनि लामो छ । स्थानीय तहदेखि प्रतिनिधि सभासम्मका चुनावमा पार्टीले आफ्नो संगठन र विचारधारामा आधारित अभियान सञ्चालन गर्दै आएको छ। कार्यकर्ताहरूले स्वयंसेवकका रूपमा प्रचार अभियानमा सहभागी हुने भएकाले आर्थिक खर्च न्यून हुने गरेको बताइन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालको चुनावी प्रणालीमा खर्चको प्रतिस्पर्धा बढ्दै जाँदा साधारण नागरिकका लागि चुनाव लड्न कठिन बन्दै गएको छ। यस्तो अवस्थामा कम खर्चमा चुनाव लड्ने अभ्यास लोकतन्त्रका लागि सकारात्मक उदाहरण हुन सक्ने उनीहरूको भनाइ छ।
नेमकिपाका उम्मेदवारहरूले बुझाएको खर्च विवरणले पनि यही सन्देश दिन खोजेको देखिन्छ—चुनाव जित्न वा जनतासम्म पुग्न ठूलो धनराशि आवश्यक पर्दैन, संगठन, विचार र जनसमर्थन नै सबैभन्दा महत्वपूर्ण हुन्छ।
राजनीतिक दलहरूबीच चुनावी खर्चको प्रतिस्पर्धा बढिरहेका बेला नेमकिपाको यस्तो अभ्यासले नेपाली राजनीतिमा अर्को बहस पनि जन्माएको छ। के चुनाव विचार र जनसमर्थनको आधारमा लड्ने कि धनशक्तिको बलमा?
भक्तपुरबाट सार्वजनिक भएको यो उदाहरणले भने कम खर्चमा पनि चुनावी अभियान सम्भव छ भन्ने संकेत दिएको छ। अहिले उम्मेदबारले नाम दर्ता गराउँंदा नै प्रति उम्मेदबार दस हजार शुल्क तिर्नुपर्ने हुन्छ निर्वाचन आयोगमा । त्यसपछिका खर्च त लाखमा होइन, करोडमा चढ्छ । तथापि निर्वाचन आयोगले खर्चको सिमालाई सिमांंकन गरी लाखौ मात्रै खर्च गर्न पाउने व्यवस्था गर्दै आएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

जहाँं उम्मेदबारले एक पैसा पनि खर्च नगरी चुनाव लड्छ...

Comments