नेमकिपाको संघर्ष अव सडकबाट
फाल्गुन २५, २०८२, सोमबार | राति ०८:०४ बजे | 240
भक्तपुर — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले हालै सम्पन्न निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ। पार्टीका सचिव प्रेम सुवाल ले जारी गरेको प्रेस वक्तव्यमा मतदाताले दिएको अमूल्य मतप्रति आभार प्रकट गरिएको हो।
प्रेस वक्तव्यमा पुँजीवादी संसदीय निर्वाचनबाट समाजवाद आउन नसक्ने पार्टीको धारणा भए पनि देश र जनताको हितका लागि प्रतिक्रियावादी शक्तिहरूबीच समेत संघर्ष गर्दै काम गर्ने नीति लिएको उल्लेख गरिएको छ। यही नीति अनुसार पार्टीले पछिल्लो निर्वाचनमा पनि सक्रिय रूपमा भाग लिएको जनाइएको छ।
पार्टीले आफ्नो चुनाव चिन्ह “मादल” मा मत दिएर विश्वास प्रकट गर्ने मतदाताप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। साथै निर्वाचन परिणामको समीक्षा गर्न पार्टीले सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूलाई विश्वास दिलाएको छ।
वक्तव्यमा निर्वाचनमा विजयी भएका सबै उम्मेदवारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देशको सार्वभौमिकता र जनताको हितका लागि काम गर्न आग्रह गरिएको छ। नेमकिपाले सरकारलाई पनि देश र जनताको सर्वोपरि हितका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
