स्वःबोध ज्ञान तथा ध्यान कार्यक्रम सम्पन्न


फाल्गुन २५, २०८२, सोमबार | राति ०७:४५ बजे | 70


स्वःबोध ज्ञान तथा ध्यान कार्यक्रम सम्पन्न

काठमाडौँ। ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हातेमालो फाउन्डेसन, नारायणटार काठमाडौँको आयोजनामा स्वःबोध ज्ञान तथा ध्यानसम्बन्धी तीन घण्टे विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८२ साल फागुन २४ गते आइतबार (८ मार्च २०२६) बुढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको शीतल बाटिका प्रि–स्कुलको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा फाउन्डेसनका संस्थापक सदस्य विनोद कुइकेल र कुमार बोगटी को विशेष संयोजकत्व रहेको थियो।
कार्यक्रममा “एक विश्व, एक आध्यात्मिक परिवार बनौँ – स्वास्थ्य, खुसी, आनन्द, प्रेम र ज्ञानपूर्ण जीवन जिउँ र अरुलाई पनि जिउन सिकाऔँ” भन्ने भावनालाई केन्द्रमा राखेर सहभागी महिलाहरूलाई स्वःबोध, ध्यान र आत्मचेतनासम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसन अध्यक्ष चन्द्रहरी कायस्थ ले फाउन्डेसनले सञ्चालन गर्दै आएको २० प्रकारका जीवनोपयोगी तालिम बारे विस्तृत जानकारी दिँदै नारी शक्तिको महत्व, आत्मबोध र आध्यात्मिक चेतनाको आवश्यकता बारे प्रेरणादायी विचार व्यक्त गर्नुभयो। उहाँले “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” भन्ने मनुस्मृतिको श्लोक उद्धृत गर्दै जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवत्वको वास हुने बताउनुभयो।
उहाँले रामायणको प्रसिद्ध श्लोक
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
उद्धृत गर्दै नारी, आमा र जन्मभूमिको महानताको चर्चा गर्नुभयो। साथै समय र सृष्टिको अवधारणाबारे जानकारी दिँदै सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग को अवधिका बारेमा समेत सहभागीलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रमका विशेष संयोजक विनोद कुइकेल ले “मानवसेवा नै आध्यात्मिक सेवा हो” भन्ने भावनाका साथ आफूले लामो समयदेखि स्वयंसेवकका रूपमा काम गर्दै आएको उल्लेख गर्दै आजदेखि आफूलाई हातेमालो फाउन्डेसनको पूर्णकालीन आध्यात्मिक स्वयंसेवकका रूपमा समर्पित गरेको घोषणा गर्नुभयो।
कार्यक्रममा शारीरिक तथा मानसिक स्वास्थ्य, आर्थिक समृद्धि, सामाजिक चेतना र आध्यात्मिक विकासका विषयहरूलाई चित्र र भिडियोमार्फत सरल र प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी महिलाहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सम्पन्न भएपछि शीतल बाटिका प्रि–स्कुलका प्रिन्सिपल टप्पी बस्नेत ले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न योगदान दिने वक्तालाई कदरपत्र प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण महिलालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रमको समापन भोजन तथा शुभकामना आदान–प्रदानसहित गरिएको थियो।
सहभागी महिलाहरूले कार्यक्रमलाई समय सान्दर्भिक, प्रेरणादायी र समाजमा सकारात्मक परिवर्तन ल्याउने खालको भएको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
महिला दिवसले नारी केवल अबला होइन, समाज परिवर्तनको शक्तिशाली आधार स्तम्भ हो भन्ने सन्देश पुनः स्मरण गराएको छ। आत्मबोध, शिक्षा, स्वास्थ्य, सम्मान र अवसरको माध्यमबाट नारी सशक्तिकरणले नै समुन्नत समाज निर्माण सम्भव हुने विश्वास कार्यक्रमले व्यक्त गरेको छ।

फाेटाेमा हेर्नुहाेस्...

स्वःबोध ज्ञान तथा ध्यान कार्यक्रम सम्पन्न

Comments