भक्तपुरमा सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्रमा मतदान
फाल्गुन २१, २०८२, बिहीबार | राति ०९:१७ बजे | 150
भक्तपुर । भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको छ । विवरण अनुसार यहाँं ७१ दशमलव ४६ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रकाश मगरले जानकारी दिए ।
जिल्लामा दुई वटा क्षेत्रहरु छन् । तीमध्ये चाँंगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका क्षेत्र नं १ मा पर्दछ भने मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्र नं २ मा पर्दछ ।
भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा सम्पन्न मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सार्वजनिक गरिएको वडागत विवरणअनुसार अधिकांश स्थानमा ७० प्रतिशत हाराहारी मतदान भएको छ ।
चाँगुनारायण नगरपालिकामा कुल ४६ हजार ५१५ मतदातामध्ये ३० हजार ५४९ मत खसेको छ, जुन करिब ६६.५५ प्रतिशत हो । यहाँ वडा नम्बर १ मा सबैभन्दा बढी ७०.८४ प्रतिशत मतदान भएको देखिन्छ भने वडा नम्बर ६ मा सबैभन्दा कम करिब ५९ प्रतिशत मतदान भएको छ ।
भक्तपुर नगरपालिकामा भने मतदान सबैभन्दा बढी भएको देखिएको छ । यहाँ कुल ६० हजार ३२ मतदातामध्ये ४५ हजार ८५० मत खसेको छ, जुन करिब ७५.६१ प्रतिशत हो । वडागत रूपमा वडा नम्बर १० मा सबैभन्दा बढी ७८.१४ प्रतिशत मतदान भएको छ भने अन्य अधिकांश वडामा पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिकामा कुल ५३ हजार ७०५ मतदातामध्ये ३९ हजार १६२ मत खसेको छ । यहाँ समग्र मतदान प्रतिशत करिब ७२.९३ प्रतिशत पुगेको छ । अधिकांश वडामा ७० प्रतिशतभन्दा बढी मतदान भएको तथ्यांकले देखाएको छ ।
मध्यपुर थिमि नगरपालिकामा कुल ४४ हजार ४६८ मतदातामध्ये ३२ हजार ३४ मत खसेको छ, जुन करिब ७३.५४ प्रतिशत हो । यहाँ पनि अधिकांश वडामा ७० प्रतिशत हाराहारी मतदान भएको छ ।
जिल्लाका चारवटै नगरपालिकामा समग्रमा हेर्दा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन कर्मचारीको सक्रियता रहेको बताइएको छ ।
