भूस्वर्गको सुवास पुस्तकमा मेरो दृष्टि


फाल्गुन २०, २०८२, बुधबार | राति ०७:५६ बजे | 140


भूस्वर्गको सुवास पुस्तकमा मेरो दृष्टि

प्रकाशप्रसाद उपाध्याय
वालुवाटार, काठमाडौं
प्रारम्भ
उनन्चालिस लेखमालाबाट निसृत भूस्वर्गको सुवासको आनन्द पाउनको निम्ति डा. इन्दुल केसीको लेखनीद्वारा रचित एवम सम्पादित कृतिका पाना पल्टाउन थाल्दा मनमा केही कुरा उत्पन्न भए । उनीसित मेरो परिचय भएदेखि लगभग वर्षेपिच्छे उनीबाट नयाँ कृति पाउने गरेको छु जसले उनको सृजनशीलता एवम् लेखन शिल्पको बोध गराउने गर्दछ। पोहोर उनले २ वोटा कृति प्रकाशन गरे । यस वर्ष अर्थात २०८२ सालमा उनले तीनवटा कृति निकालेर नयाँ कीर्तिमान स्थापित गरे। यो पाउँदा यो सोच्न वाध्य पनि गरायो कि कतै उनी आफ्नै लेखन शिल्पसित त प्रतिस्पद्र्धा गरिरहेका छैनन् ?
उनको लेखन क्षमता र जाँगर पनि अवर्णनीय लाग्दछ । किनभने कहिले उनी शब्दसागरका मोतीको तलासमा निस्कँदै पाठकवर्गसामु नयाँ–नयाँ टल्कने मोती प्रस्तुत गर्दछन् त कहिले शब्दसागरका ती मोतीका ज्योतिको आलोकबाट पाठकवर्गका आँखा तिरमिराउन खोज्दछन् ।
२०८२ सालमा इन्दुलका फूलका फिलिङ्गहरू र गगनमण्डलका ताराहरू शिर्षककमा दुई पुस्तक निकालेर पनि नथाकेका डा. केसीले ०८२ मै भूस्वर्गको सुवास पाठकवर्गसामु फैलाउन खोजे, जसको लोकार्पण आफ्नो ८४ औं जन्मदिवसको शुभ उपलक्ष्यमा शब्दयात्रा प्रकाशन, बनेपाको प्राङ्गणमा हुन पुग्यो ।
सम्बन्धित पुस्तक
३९ वटा लेखहरू समाविष्ट यस कृतिद्वारा भूस्वर्गका सुवास फैलाउने अनेक रङका पुष्पहरू फेला परे । जसमध्ये केही कविताका रूपमा छन्, त कुनै निबन्धका रूपमा । यसो भन्दै गर्दा विभिन्न विद्वान एवम् साहित्यकारहरूद्वारा रचिएका कविताहरूको संख्या ७ वटा छ, जसबाट डा. केसीप्रति शुभकामनाका शब्द निसृत भइरहेछन् भने २२ वोटा निबन्ध छन् । यसका अतिरिक्त इन्दुल केसीका फिलिङ्गहरूको समीक्षाले उनको बहुआयामिक व्यक्तित्व र लेखन शिल्पलाई पाठक वर्गसामु प्रस्तुत गरिरहेको पाइन्छ । पुस्तकका ४ ओटा पानाहरूमा डा. केसीका प्रकाशित कृतिहरू, उनलाई प्राप्त अभिनन्दनपत्र, कदरपत्र एवम् सम्मानपत्रका साथै विद्यावारिधिको डिग्रीको प्रतिच्छायाले पनि आनन्ददायी सुवास फैलाइरहेका पाइन्छन् । पुस्तकको १०८ नम्बरको पानाबाट देश र विदेशका राष्ट्रिय गानहरूले पाठकवर्गलाई ज्ञानवद्र्धक सामग्री भेटिन्छन् । भारत र चीन नेपालका महत्वपूर्ण छिमेकी भएकाले ती देशहरूका राष्ट्रिय गानको पछाडिको इतिहासले अनेक महत्वपूर्ण जानकारी प्रदान गर्दछ भने नेपालका राष्ट्रिय गीतका विभिन्न शब्दहरूको विश्लेषणले त पाठक वर्गमा प्रभाव नपार्ने कुरै भएन । यस लेखलाई पढ्दा लेखकद्वय डा. केसी एवम् रत्नकुमार श्रेष्ठले लेख तयार पार्ने सिलसिलामा गर्नुपरेको श्रम र शोधकार्यको जटिलताको अनुमान लगाउन सकिन्छ ।
आफ्ना यी शब्द टङ्कन (टाइप) गर्दै गर्दा मनमा के पनि विचार उत्पन्न हुन थालेको छ भने २०८२ साल सकिन अझै ४ महिना बाकी रहेको अवस्थामा १० वोटा साहित्यिक कृतिहरूका लागि कलम चलाईसकेका ८४ वर्षीय यी युवा लेखक, रेकी मास्टर एवम् योग तथा प्राकृतिक चिकित्सकका मनमष्तिष्क र सिर्जनशील लेखनीले पाठकवर्गलाई वर्षान्ततिर कतै पाताललोकको रहस्यबाट परिचित गराउने सामग्री प्रस्तुत गरेर विस्मित पार्ने त होइनन् ?
अन्तमा, नेपालको चुच्चे नक्साबट सिँगारिएको यस कृतिको आवरण पृष्ट र भक्तपुरको विश्वप्रसिद्ध न्यातपोल मन्दिरको तस्बिरबाट सुसज्जित अन्तिम पृष्टले उनीभित्रको देशप्रेम प्रकट गर्न र पाठक वर्गको ध्यान आकर्षित गर्नमा सफलता पाइरहेको पनि अनुभव हुन्छ ।
लेखक÷सम्पादकले भूस्वर्गको सुवासबाट सुवासित हुन चाहना राख्ने पाठक महानुभावहरूप्रति यो पुस्तक समर्पित गरेका हुँदा पुस्तकप्रेमीहरूले भूस्वर्गको सुवासको आनन्द प्राप्त गर्न नचुक्नुहोला । यस पुस्तकको अन्तिम पृष्ठमा प्रकाशित भजनले सुवास पान गर्नको लागि अझ थप मौका मिल्नेछ भन्ने मलाई लागेको छ ।
२०८२ फागुन १८ (फागु पूर्णिमा)
०००
 

Comments