भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नेमकिपालाई भोटः विजुक्छें
फाल्गुन १८, २०८२, सोमबार | राति ०७:३८ बजे | 80
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्तका लागि आफनो पार्टीलाई भोट दिन अनुरोध गरेका छन् । सोमबार भक्तपुरमा भएको अन्तिम चुनावी सभामा विजुक्छेंले संविधान शंशोधन गरी भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायँं दिलाउन आफना उम्मेदबारहरुलाई जिताउनुपर्ने बताए । तर विजुक्छें आफैं भने उम्मेदबार छैनन् । उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ मा यो पटक पार्टी सचिव प्रेम सुवाल उम्मेदबार छन् । विजुक्छें यो क्षेत्रबाट लगातार पाँंच पटक विजयी भएका थिए । उमेरका कारण उनले छोडेपछि यो क्षेत्रमा यसअघि दुई पटक पार्टी सचिव प्रेम सुवाल विजयी भइसकेका छन् । अहिले पनि प्रेम सुवाल नै यो क्षेत्रबाट उम्मेदबार भई ह्याटिक गर्ने प्रयासमा छन् ।
जनसभामा विजुक्छेंले भ्रष्टाचारलाई मात्रै पनि न्युनीकरण गर्न सके देश वन्ने दावी गरे । ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्ड र त्यो भन्दा कमका भ्रष्टाचारीहरुको सम्पती सरकारीकरण गर्नुपर्ने धारणा आफूहरुको रहेको उनको भनाई छ । यही कारण आफूहरुले घोषणापत्रमा यी कुरा उल्लेख गरेको उनले जनाए ।
उनले भक्तपुर एउटा मात्रै भ्रष्टाचारमुक्त रहेको दावी गरे । यहाँं एकपैसा पनि घुस लिनेदिने हुँंदैन, आफूहरुले जित्दै आएको भक्तपुर नगरपालिकाको उदाहरण दिंदै उनले भने । उनले भक्तपुर भ्रष्टाचारमुक्त देशकै एउटै मात्रै नगरपालिका भएको पनि दावी गरे ।
उनले देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान सफल बनाऔ, पार्टीको निर्वाचनको मुख्य नारा रहेको जनाए । पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि समाजवादी प्रचार अभियानलाई थप सशक्त बनाउन मत मागेको उनले बताए ।
नेमकिपाले ‘क्रान्तिकारी संसद’लाई व्यवहारमा लागू गर्दै आएको उल्लेख गर्दै उनले संसदलाई देशको नीति–निर्माण, बजेट, ऐन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामाथि छलफल र निर्णय गर्ने बौद्धिक थलोका रूपमा व्याख्या गरेको जनाए । नेमकिपाले २०४८ सालदेखि संसदमा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको दाबी उनले गरे । यसकारण यस पटक पनि मन्त्री, प्रधानमन्त्री बन्नको लागि आफूहरुले मत नमागेको उनले स्पष्ट पारे ।
जनसभामा पार्टी केन्द्रिय सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई विचारका पार्टी मात्रै पार्टी चुनावी प्रतिस्पर्धामा रहेको दाबी गरे । अहिले घरघर, टोलटोल, ठाउँंठाउँंमा फरकफरक नामका पार्टी र झण्डा बोकेर निर्वाचनमा भोट माग्न आउने गरे पनि निर्वाचनपछि प्रधानमन्त्री, मन्त्री पद खान हुनेनहुने गठबन्धन गर्ने र निर्वाचन जिते पनि सरकारमा नगई जनताकै सेवामा रहने गरी वस्ने दुई वटा विचार बोक्ने पार्टी मात्रै निर्वाचनको प्रतिस्पर्धामा रहेको दावी उनले गरे । निर्वाचनपछि आफूलाई ठूला भन्ने दलहरु पदका लागि हारालुछमा लाग्ने गर्दै आएको स्मरण उनले गरे ।
जनसभामा पार्टी जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाई, पार्टीकै अर्का वागमती प्रदेशका सांसद् सृजना सैंजूलगायतले निःश्वार्थ रुपमा देश र जनताको सेवामा लागेका आफना पार्टीका उम्मेदबारहरुका पक्षमा मत हाल्न अनुरोध गरे । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० जना उम्मेदवार उठाएको जनाएको छ, जसमध्ये ५४ जना (४५ प्रतिशत) महिला छन् । समानुपातिकतर्फ १०९ जना उम्मेदवारमध्ये ५८ जना (५३ प्रतिशत) महिला रहेको पार्टीले जनाएको छ । यो संख्या देशभरका पार्टीहरुमध्ये सवैभन्दा वढी महिला उम्मेदबार रहेको पार्टीले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
