अहिलेको निर्वाचनमा मुख्य दुईवटा मात्रै पार्टीः प्रेम सुवाल


फाल्गुन १६, २०८२, शनिबार | राति ०९:२७ बजे | 90


अहिलेको निर्वाचनमा मुख्य दुईवटा मात्रै पार्टीः प्रेम सुवाल

भक्तपुर, फागुन १६
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सो पार्टीबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई वटा मात्रै पार्टी रहेको दाबी गरेका छन् । अहिले घरघर, टोलटोल, ठाउँंठाउँंमा फरकफरक नामका पार्टी र झण्डा बोकेर निर्वाचनमा भोट माग्न आउने गरे पनि निर्वाचनपछि प्रधानमन्त्री, मन्त्री पद खान हुने नहुने गठबन्धन गर्ने र निर्वाचन जिते पनि सरकारमा नगई जनताकै सेवामा रहने गरी वस्ने दुई वटा विचार बोक्ने पार्टी मात्रै रहेको दावी उनले गरे ।
शनिबार भक्तपुरमा सो पार्टीले गरेको जनसभामा उम्मेदबार सुवालले आफूहरु जितेर गए पनि मन्त्री, प्रधानमन्त्री वन्ने होडमा नभई जनताकै वीचमा रहने प्रतिवद्धता जनाए । यही कारण आफूहरुले घोषणापत्रमै सरकारमा नगई प्रखर प्रतिपक्षमा रहने बाचा जनतामा गरेको उनले स्मरण गरे । 
त्यही कारण अहिले जनतामा फरकफरक नामका पार्टी र झण्डा लिएर भोट माग्न आए पनि सारमा उनीहरु सवै एउटै पार्टी भएको बरु मात्र नाम र झण्डा मात्रै फरक रहेको उनको भनाई छ । 
कार्यक्रममा पार्टी भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाई, पार्टी नगर कमिटीका कृष्णगोविन्द लाखाजू, विद्यार्थी नेतृ सुजी हेंगजूलगायतले पार्टीको पक्षमा मत हाल्न अनुरोध गरेका थिए ।
 

Comments