आफना नेताहरु एमाले प्रवेशबारे यसो भन्छ भक्तपुर राप्रपा  


फाल्गुन १४, २०८२, बिहीबार | राति ०९:१४ बजे | 240


आफना नेताहरु एमाले प्रवेशबारे यसो भन्छ भक्तपुर राप्रपा  

भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुरका सचिव एवं भक्तपुर क्षेत्र नं २ का उम्म्ेदबार विक्रम थापाले आफनो पार्टी छाडेर एमाले प्रवेश गरेका भनिएका साथीहरुलाई आफूहरुले चाहे भोलि नै पार्टीमा फर्काउन सक्ने दावी गरेका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार उनीसँंग गरेको साक्षात्कारमा उनले सिद्धान्त नभई पार्टी छोडेर गएकालाई आफूहरुले चाहे तुरन्त फर्काउन सक्ने दावी गरे । 
उनले भने, जीवनभर राजा, हिन्दु राज्यको पक्षमा लागेका साथीहरु एकछिनको स्वार्थका लागि एमालेमा गएकाले धेरै दिन टिक्दैन । केही समयपछि नैतिकताको आधारमै उनीहरु आफैं फर्किन्छन् । 
चुनावको मुखमा राष्टिय प्रजातन्त्र पार्टी मध्यपुर थिमि नगर समितिका पूर्व अध्यक्ष भुवन बागको संयोजकत्मा २५ जना राप्रपा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको खवर बुधबार सार्वजनिक भएको थियो । बागको नेतृत्वमा पार्टीका पूर्व नगर कोषाध्यक्ष सलिम पुजारी, पूर्व सचिव मानबहादुर राजबाहक सहित २५ सदस्यीय टोली एमाले प्रवेश गरेको विषय  सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो । पूर्व नगर समितिका सदस्यहरु बाबुनाथ पोडे, मंगललाल राजबाहक, सनम राजबाहक, चन्द्रकृष्ण श्रेष्ठलगायतका सदस्यहरु पार्टी प्रवेश गरेको जनाइएको छ ।  
मैले चाहे भने भोलि नै उहाँंहरु फर्किनुभयो भनेर फोटो खिचेर राख्न सक्छु, उम्मेदबार थापाले कार्यक्रममा भने । कार्यक्रममा उम्मेदबार थापाले चुनावमा आफनो पार्टी र आफनो प्रतिवद्धता सार्वजनिक गरेका थिए । 
कार्यक्रममा छुटै प्रसंगमा थापाले भक्तपुर क्षेत्र नं २ मा दुई वटा मात्रै विचारका पार्टीहरु चुनावी मैदानमा रहेको बताए । एउटा राजावादी, हिन्दु राज्य चाहने अनि संघीयविरोधी र अरु गणतन्त्रबादी, धर्मनिरपेक्ष अनि संघीयतापक्षीय रहेको उनको भनाई छ । आफूहरु राजवादी, सनातन हिन्दु राज्य पक्षीय र संघीयताविरोधी र बाँंकी सवै पार्टीहरु गणतन्त्रबादी, धर्मनिरपेक्ष र संघीयता पक्षधर रहेको उनको भनाई छ । 
यो क्षेत्रमा विभिन्न राजनीतिक पार्टीहरुबाट १५ जना पार्टीका उम्मेदबारहरु छन् । पार्टीका १५ र स्वतन्त्र १७ गरी यस क्षेत्रमा कुल ३२ जना उम्मेदबारहरु रहेका छन् । 
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जीतमान लामालगायतका उम्मेदबारहरु प्रतिस्पर्धामा छन् । 
भक्तपुर क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले आलोपालो जित निकाल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जित निकालेको थियो । त्यसपछि २०५१ सालमा नेपाल मजदुर किसान पार्टीले जित भएको थियो । त्यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेसले जितेको थियो । फेरि २०७० सालमा नेपाल मजदुर किसान पार्टीले जितेको थियो । त्यसपछि  एमालेले २०७४ सालमा एक पटक जित निकालेको थियो । त्यसपछि फेरि २०७९ सालमा नेपाली कांग्रेसले जितेको थियो । 
यस क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ सालमा एमालेका महेश वस्नेत र यसअघिको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए । यस निर्वाचन क्षेत्रमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिकाहरु पर्दछन् । यी दुई नगरपालिकामध्ये मध्यपुर थिमि नगरपालिकामा ९ वटा र सूर्यविनायक नगरपालिकामा १० वटा गरी कुल १९ वटा वडाहरु रहेका छन् । यहाँं कुल 
९८ हजार तीन सय ५६ मतदाता रहेका छन् ।  
 

फाेटाेमा हेर्नुहाेस्...

आफना नेताहरु एमाले प्रवेशबारे यसो भन्छ भक्तपुर राप्रपा  

Comments