तौथलीमा यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न


फाल्गुन ११, २०८२, सोमबार | राति ०९:०२ बजे | 1375


तौथलीमा यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक, त्रिपूरासुन्दरी — त्रिपूरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीस्थित यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा वडा कार्यालयको प्राङ्गणमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

समूहका अध्यक्ष साजन श्रेष्ठको सभापतित्व तथा वडा अध्यक्ष यादव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सब–डिभिजन वन कार्यालय, बारबिसेका अधिकृत सन्तोष हुमागाईं र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा वडा सदस्य हीरामाया श्रेष्ठ, विमल श्रेष्ठ, टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ तथा उद्योग वाणिज्य संघका सदस्य मोहन भक्त श्रेष्ठलगायत सामुदायिक वन समूहका पदाधिकारी, पूर्व पदाधिकारी र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उत्तम भक्त श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुकमेल श्रेष्ठले राख्नुभएको थियो। प्रमुख अतिथि यादव श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

विशेष अतिथि शारदा प्रसाद चालिसेले सामुदायिक वन समुदायको सम्पत्ति भएकाले वन डढेलोबाट जोगाउन सबै समुदाय सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अग्नि विपद् पूर्वतयारी, अग्नि रेखा निर्माण तथा सरसफाइ, झाडी सुधार र वन विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो।

अर्का विशेष अतिथि सन्तोष हुमागाईंले सामुदायिक वन समूहहरूले कार्ययोजना र प्रचलित नीति–नियमअनुसार झाडी सुधार तथा वन विकासका गतिविधि सञ्चालन गर्नुपर्ने बताउँदै वन संरक्षणमा समूहहरूको अग्रसरता आवश्यक रहेको धारणा राख्नुभयो।

प्रमुख अतिथि यादव श्रेष्ठले सामुदायिक वन समुदायको धन भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबैको साझा दायित्व रहने बताउनुभयो।

सभापति साजन श्रेष्ठले सिखरचुली, दुधिला र भूमिदेवी सामुदायिक वनलाई मर्ज गरी दिगो वन व्यवस्थापनतर्फ अघि बढिसकेको जानकारी दिँदै नयाँ कार्ययोजना तयार गरी वन विकासका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा उत्कृष्ट कार्य गर्ने पूर्व अध्यक्षहरूलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा उत्तम भक्त श्रेष्ठ, वृषबहादुर श्रेष्ठ, अमृत श्रेष्ठ र पदमबहादुर श्रेष्ठ रहनुभएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

तौथलीमा यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

Comments