दोश्रो महाबिर पुन बन्दै भक्तपुर २ का नवीन महत
फाल्गुन १०, २०८२, आइतबार | राति ०९:१७ बजे | 505
भक्तपुर क्षेत्र नं. २ को निर्वाचन अभियानमा यतिबेला अर्को रोचक पक्ष देखिएको छ—स्वतन्त्र उम्मेदवार नवीन कुमार महतको शान्त तर प्रभावशाली अभियान। बाहिरबाट हेर्दा अत्यन्त संयमित, तर भित्रभित्रै व्यापक जनसमर्थन निर्माण गरिरहेका नवीन महत अहिले चर्चाको केन्द्र बन्दै गएका छन्।
जनताको अपार माया र विश्वासलाई उहाँले आफ्नो व्यक्तिगत लोकप्रियताभन्दा पनि “विचारको जित” का रूपमा लिनुहुन्छ। उहाँको स्पष्ट सोच, तार्किक प्रस्तुति र शालीन बोल्ने शैलीले धेरै मतदातालाई मन्त्रमुग्ध बनाउने गरेको छ। भीड तान्ने कृत्रिम शैलीभन्दा उहाँ साइलेंट तरिकाले घरदैलोमा पुगेर मत माग्ने अभियानमा केन्द्रित हुनुहुन्छ। उहाँको भनाइ छ—“भोट लोकप्रियतालाई होइन, विचार र नीतिलाई दिनुपर्छ।”
उहाँकी जीवनसाथीको सक्रिय साथ पनि अभियानको महत्वपूर्ण पक्ष बनेको छ। जीवनसाथीको जन्मघर गुन्डु भएकाले स्थानीय सम्बन्ध र आत्मीयताले पनि अभियानलाई थप बल पुर्याएको देखिन्छ। परिवारको साथ, विचारको स्पष्टता र जनतासँगको प्रत्यक्ष संवादले उहाँको आधार मजबुत बन्दै गएको छ।
हालै आयोजित आचारसंहिता सम्बन्धी बैठकमा नवीन महतले नेताहरू अनुशासित र मर्यादित हुनुपर्ने धारणा स्पष्ट रूपमा राख्नुभयो। उहाँले पैसाको प्रभावमा परेर नयाँ–नयाँ समूह खडा गर्ने, फेक भिडियो बनाएर सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको बताउनुभयो। यस विषयमा उहाँले प्रमुख निर्वाचन अधिकृत र जिल्ला सुरक्षा अधिकारीसमक्ष आफ्नो धारणा राख्दै निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गरिनुपर्ने माग गर्नुभएको छ।
त्यसैगरी, केही नेताहरूले निजी नम्बर भिजिटिङ कार्डमा राखेर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने प्रवृत्तिसमेत आचारसंहिताभित्र नपर्ने विषय भएको उहाँको तर्क छ। उहाँ राजनीति स्वच्छ छवि, अनुशासन र नीतिगत प्रतिस्पर्धाबाट अघि बढ्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ।
विचारका धनी र स्वच्छ छविका युवा उम्मेदवारका रूपमा परिचित नवीन महतको लोकप्रियता भित्रभित्रै बढ्दो क्रममा रहेको छ। सम्मानजनक मत प्राप्त गर्दै कडा प्रतिस्पर्धामा जाने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
अन्ततः, भक्तपुर २ मा अहिलेको निर्वाचन केवल व्यक्तिको प्रतिस्पर्धा नभई विचार, नीति र नैतिकताको परीक्षण बनेको छ—जहाँ नवीन कुमार महत आफ्नो स्पष्ट दृष्टिकोण र संयमित अभियानमार्फत बलियो उपस्थिति जनाइरहनुभएको छ।
स्वतन्त्र उम्मेदवार नवीन महत को क्यामेरा चुनाब चिन्ह रहेको छ
