कीर्तिपुर नगरका पूर्वप्रमुख रमेश महर्जन र एमाले नेताहरु नेकपामा प्रवेश गर्दै
फाल्गुन १०, २०८२, आइतबार | साँझ ०६:५८ बजे | 80
कीर्तिपुर, फागुन १० गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रुपा महर्जन श्रेष्ठको जित सुनिश्चित हुने सम्भावना बढेको छ । लामो समय नेकपा (एमाले)मा क्रियाशिल रहेर पाँचवर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जनसहित वामवृद्धिजीवीहरु नेकपामा प्रवेश गरेसँगै उहाँको जित सुनिश्चित हुन लागेको हो । पूर्वप्रमुख महर्जनले प्रमुख पदमा सातहजार ३६० मत लिएर निर्वाचित हुनुभएको थियो । उहाँसँगै वडा नम्बर ६ को पूर्व वडाध्यक्ष न्हुछेँबहादुर महर्जनले पनि पार्टी प्रवेश गर्नुहुने भएको छ । वडानम्बर ६ कीर्तिपुर नगरपालिकाको सबैभन्दा बढी मतदाता भएको वडा पनि हो । उहाँहरु दुबैजनाले पाँचवर्ष कार्यकाल सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । कीर्तिपुर क्षेत्रमा लोकप्रिय दुईजना नेताहरुले सो क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिनुभएको थियो । उहाँहरुलगायतलाई पेरिसडाडाँमा रहेको नेकपाको केन्द्रिय कार्यालयमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराउने तयारी रहेको वागमति प्रदेशका ईञ्चार्ज हितमान शाक्य सुमनले जानकारी दिनुभएको हो ।
