यस्तो छ भक्तपुर क्षेत्र नं १ को पछिल्लो अंकगणित


फाल्गुन ९, २०८२, शनिबार | दिउँसो ०१:३३ बजे | 165


यस्तो छ भक्तपुर क्षेत्र नं १ को पछिल्लो अंकगणित

भक्तपुर । बिहान कमल विनायकको चोकमा चिया उम्लँदै गर्दा राजनीति पनि सँगै तातिन्छ । पाटी-पौवामा चल्ने बहस, मोबाइल स्क्रिनमा घुम्ने चुनावी भिडियो र घरदैलोमा सुनिने नारा-सबैको केन्द्रमा एउटा प्रश्न उभिएको छ : भक्तपुर-१ ले फेरि इतिहास दोहोर्‍याउने हो कि नयाँ मोड लिने ? आसन्न आमनिर्वाचनले देशभरको राजनीतिक तापक्रम बढाइरहँदा भक्तपुर क्षेत्र नम्बर १ फेरि पनि राष्ट्रिय चासोको केन्द्र बनेको छ । कारण स्पष्ट छ- यो क्षेत्र २०४८ सालयता लगातार एउटै धारमा अडिएको छ । पाँचपटक नारायणमान बिजुक्छे ‘रोहित’ र त्यसपछि दुईपटक प्रेम सुवाल विजयी बनिसक्नु भएको यो क्षेत्रलाई धेरैले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अविजित गढका रूपमा चिन्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार, भक्तपुर–१ मा कुल एक लाख सात हजार ५४ मतदाता छन् । तीमध्ये महिला ५४ हजार ९८८ र पुरुष ५२ हजार ६६ छन् । २०७९ को तुलनामा चार हजारभन्दा बढी मतदाता थपिएका छन्, तर ३० हजारभन्दा बढी मतान्तरको इतिहासले नयाँ मतदाताले मात्रै समीकरण उल्ट्याइहाल्ने सम्भावना कम देखिन्छ ।

गढ किन बलियो ?
नेमकिपाको पकडको आधार स्थानीय शासनसँग गाँसिएको छ । भक्तपुर नगरपालिकामा पार्टीको निरन्तर नेतृत्वले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सामुदायिक सेवा कार्यक्रमलाई ‘भक्तपुर मोडल’का रूपमा स्थापित गरेको समर्थकहरूको तर्क छ । सामुदायिक विद्यालयको सुदृढीकरण, ख्वपः कलेजहरू, निःशुल्क स्वास्थ्य सेवा र पुराना बस्ती संरक्षणले मतदातासँग प्रत्यक्ष सम्बन्ध बनाएको उनीहरूको दाबी छ । तर, आलोचकहरूको आवाज पनि उस्तै चर्को छ । उनीहरू भन्छन्– केन्द्रीय सत्तासँग कमजोर पहुँचका कारण ठूला पूर्वाधार, रोजगारी र आधुनिक स्वास्थ्य सेवामा भक्तपुर पछि पर्‍यो । यही आरोपलाई आधार बनाएर यसपटक धेरै दलहरूले ‘परिवर्तन’को नारा अघि सारेका छन् ।

प्रतिस्पर्धा र दाबी
यसपटक नेमकिपाका प्रेम सुवाल तेस्रो कार्यकालको दाउमा हुनुहुन्छ । उहाँ ‘मन्त्री बन्ने होइन, सशक्त प्रतिपक्ष बन्ने’ एजेण्डासहित मैदानमा हुनुहुन्छ । ‘जनमुखी सेवा र सुशासनको निरन्तरताका लागि नेमकिपा नै विकल्प हो’ भन्ने उहाँको धारणा छ । यसपटक नेमकिपालाई सिधै चुनौती दिने नाम हो-नेपाली कम्युनिष्ट पार्टीका अधिवक्ता हरिराम लवजू । कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर लवजू ‘कानुन बनाउने थलोमा कानुन बुझेको व्यक्ति चाहिन्छ’ भन्ने सन्देश लिएर मतदातामाझ पुग्नुभएको छ । २०४६ को आन्दोलनमा गोली लागेर घाइते हुनुभएका उहाँको संघर्षपूर्ण पृष्ठभूमि र सामाजिक व्यक्तित्वलाई उहाँका समर्थकले मुख्य पुँजी मानेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले नयाँ पुस्ताको असन्तुष्टि र वैकल्पिक राजनीतिलाई आधार बनाइरहनु भएको छ । उद्योग-व्यवसाय पृष्ठभूमिका रञ्जितले ‘पुरानो विरासत तोडेरै छोड्ने’ घोषणा गर्नुभएको छ । २०७९ मा प्रत्यक्ष उम्मेदवार नहुँदा पनि समानुपातिकमा ११ हजारभन्दा बढी मत आएको तथ्य उहाँको आत्मविश्वास हो ।

नेकपा एमालेबाट चाँगुनारायणका पूर्वमेयर सोमप्रसाद मिश्र मैदानमा हुनुहुन्छ । उहाँका अनुसार, ‘एकजना सांसदले मात्रै संसद्मा बोलेर भक्तपुरको समस्या हल हुँदैन, राष्ट्रिय पार्टीको पहुँच चाहिन्छ ।’ नेपाली कांग्रेसका किरण न्यौपाने पनि चाँगुनारायणमा आफ्नो पार्टीको नेतृत्वलाई आधार मानेर नेमकिपाको किल्ला भत्किने दाबी गर्नुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का धर्म-संस्कृति र पहिचानको मुद्दा बोकेर मैदानमा हुनुहुन्छ ।

भौगोलिक विभाजन, राजनीतिक गणित
भक्तपुर-१ भौगोलिक रूपमा दुई फरक संसार जस्तो देखिन्छ । भक्तपुर नगर क्षेत्रमा नेमकिपाको प्रभाव सुदृढ छ भने चाँगुनारायण नगरपालिकामा मत विभाजन हुने गरेको विगतले देखाउँछ । यही कारण चाँगुनारायणको मत निर्णायक हुने तर्क गरिन्छ, तर भक्तपुर नगरको ‘भारी मत’ अन्ततः नेमकिपातर्फ खस्ने परम्परा तोड्न विपक्षी दलहरूलाई कठिन देखिन्छ । २०७९ को नतिजाले पनि यही चित्र देखायो । प्रत्यक्षतर्फ सुवालले ४२ हजार ७६१ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार ११ हजार ९६८ मतमै सीमित हुनुभयो । ३० हजारभन्दा बढी मतान्तरले बनेको यो दूरी घटाउन मात्र होइन, उल्ट्याउन विपक्षीका लागि असाधारण लहर आवश्यक हुन्छ ।

मतदाताको मनोविज्ञान
स्थानीय मतदातासँग कुरा गर्दा दुई धार स्पष्ट देखिन्छ । एकथरी भन्छन्- ‘विकास देखियो, सेवा पाइयो, निरन्तरता चाहियो ।’ अर्काथरी भन्छन्- ‘अब नयाँलाई मौका दिनुपर्छ, परिवर्तनबिना प्रगति हुँदैन ।’ तर, यी दुई धारबीच मौन बहुमत कुनतर्फ ढल्किन्छ, त्यो मतदानको दिन मात्रै थाहा हुनेछ । फागुन २१ को मतदानले भक्तपुर-१ को राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ला कि पुरानै अध्यायलाई पुनः पुष्टि गर्ला ? नेमकिपाको ३५ वर्षे निरन्तरता चुनौतीमा परेको छ, तर चुनौती दिनेहरूका लागि यो गढ भत्काउनु अझै सजिलो देखिँदैन । मतपेटिकामा खस्ने प्रत्येक मतले एउटा मात्रै सिटको होइन, निरन्तरता र परिवर्तनबीचको राष्ट्रिय बहसको पनि फैसला गर्नेछ ।

भक्तपुर नगरपालिका सबै १० वडा र चाँगुनारायण नगरपालिकाका सबै नौ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । भक्तपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित १० मध्ये १० वटै वडा नेमकिपाले जितेको छ । यता, चाँगुनाराण नगरपालिका कांग्रेसको नेतृत्वमा छ । चाँगुनारायणमा प्रमुखसहित नौमध्ये चार वडा कांग्रेसले जितेको छ उपप्रमुखसहित एमालेले दुईवटा वडा जितेको छ । राप्रपाले दुईवटा वडामा जितेको छ । नेमकिपा चाँगुनारायण नगरपालिकामा एउटा वडामा मात्र सीमित छ ।

Comments