जहाँं भोट पनि दिन्छन् अनि चन्दा पनि
फाल्गुन ९, २०८२, शनिबार | दिउँसो १२:२५ बजे | 145
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि निर्वाचनको माहोल तातिँदै जाँदा भक्तपुरमा चुनावी गतिविधि तीव्र बनेको छ । घरदैलो अभियान, टोलसभा र कोणसभा जस्ता कार्यक्रमसँगै उम्मेदवार र राजनीतिक दलहरू सर्वसाधारणसँग भोट माग्न मात्र होइन, चन्दा संकलन गर्न पनि सक्रिय देखिएका छन् ।
भक्तपुर नगरपालिकादेखि सूर्यविनायक र मध्यपुर थिमि क्षेत्रसम्म विशेष गरेर नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासँग “स्वेच्छिक सहयोग” का नाममा आर्थिक सहयोग मागिरहेको छन् ।
विशेष गरेर नेमकिपाले सर्वसाधारणसँंग भोट पनि माग्ने र सकेको सहयोग पनि माग्ने गर्दै आएको छ । एक स्थानीयबासीले आफूहरुले भोट पनि हाल्ने र चन्दा पनि हाल्ने परिपाटी अहिलेदेखि होइन, उहिलेदेखि चल्दै आएको जानकारी गराए । ठूला दलहरुले ठूला व्यापारीहरु अदृश्य चन्दा लिने गरिरहँंदा नेमकिपा भने सर्वसाधारणसँंगै सय पचास रुपैयाँं चन्दा पनि उठाउने गर्दछन् । त्यसका लागि उसले चन्दा प्याड पनि छापेको हुन्छ । यी चन्दा प्याडहरुलाई ठाउँंठाउँंमा आफना कार्यकर्ताहरुलाई वितरण गरी चन्दा उठाउने काम उसले गर्दै आएको छ ।
यसबारे केही व्यापारी भने असन्तोष प्रकट गर्छन् । एक व्यवसायीले नाम नखुलाउने सर्तमा भने, “उम्मेदवार आफैं आएर भोट माग्नु स्वाभाविक हो, तर त्यसैबेला चन्दा पनि माग्दा असजिलो हुन्छ । नदिँदा भोलि सेवा–सुविधामा असर पर्छ कि भन्ने डर लाग्छ ।”
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार वा दलहरूले पारदर्शी तरिकाले आर्थिक स्रोत परिचालन गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोग नेपालले निर्वाचन अवधिमा चन्दा संकलन गर्दा स्वेच्छिक, पारदर्शी र लेखाजोखा सहित हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर व्यवहारमा भने सर्वसाधारणमाथि दबाब सिर्जना हुने अवस्था देखिएको स्थानीय नागरिक समाजका प्रतिनिधिहरू बताउँछन् ।
राजनीतिक दलका स्थानीय नेताहरू भने चन्दा संकलन स्वेच्छिक भएको दाबी गर्छन् । नेमकिपाएका एक कार्यकर्ताले भने, “हामीले कसैलाई बाध्य पारेका छैनौं । समर्थकहरूले आफ्नो इच्छाअनुसार सहयोग गर्नु भएको हो ।”
विश्लेषकहरूका अनुसार सानो भूगोल र नजिकको सामाजिक सम्बन्ध रहेको भक्तपुरमा चुनावी खर्च व्यवस्थापनका लागि दलहरू प्रत्यक्ष जनसहयोगमा निर्भर हुने प्रवृत्ति पुरानै हो । तर भोट र चन्दालाई एउटै सन्दर्भमा जोडिँदा लोकतान्त्रिक अभ्यासमै प्रश्न उठ्ने उनीहरूको भनाइ छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि निर्वाचन आचारसंहिताको पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ । अनियमित चन्दा संकलनबारे उजुरी आएमा छानबिन गरिने प्रशासनले जनाएको छ ।
चुनाव लोकतन्त्रको उत्सव मानिए पनि “जहाँ भोट पनि दिन्छन् अनि चन्दा पनि” भन्ने अवस्था दोहोरिन नदिन सरोकारवालाहरूको ध्यान जानु आवश्यक बताउँंछन् ।
तस्वीर
भोटसँंग चन्दा माग्दै नेमकिपाका कार्यकर्ता ।
