लुम्बिनीमा ५०० कुलपुत्रलाई प्रव्रज्या गराइनेः फागुन २६ देखि चैत्र १७ सम्म विशेष कार्यक्रम


फाल्गुन ७, २०८२, बिहीबार | विहान १०:४१ बजे | 135


लुम्बिनीमा ५०० कुलपुत्रलाई प्रव्रज्या गराइनेः फागुन २६ देखि चैत्र १७ सम्म विशेष कार्यक्रम

ललितपुर । अखिल नेपाल भिक्षु महासंघ र थाई–इन्डिया–नेपाल धर्मदूत संघको संयुक्त आयोजनामा यस वर्ष “आठौँ पटक ५०० कुलपुत्र प्रव्रज्या“ कार्यक्रम हुने भएको छ । बौद्ध धर्म र शिक्षाको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी २०८२ फागुन २६ गतेदेखि चैत्र १७ गतेसम्म (सन् २०२६ मार्च १० देखि ३१ सम्म) सञ्चालन हुनेछ ।
बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी बुद्ध शिक्षा र समाज निर्माणको लक्ष्यका लागि कार्यक्रम गर्न लागिएको जनाइयो । सन् २०११ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस अभियानले सभ्य समाज निर्माणमा टेवा पुरÞ्याउने लक्ष्य राखेको जनाएको छ । 
आयोजकका अनुसार यसअघि १११ देखि १२५० जनासम्मलाई प्रव्रज्या गराइसकेको छ । यस पटक ५०० जना कुलपुत्रहरूलाई अल्पकालीन श्रमणेर (भिक्षु) बनाउने तयारी गरेको छ ।
पत्रकार सम्मेलनमा आयोजक प्रवज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु वोधीज्ञान महास्थवीरले थाइल्याण्डका वेन फ्रा प्रोमबजिरबोधिभोङ र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविरज्यूको उपस्थिति र नेतृत्वमा यो प्रव्रज्या कार्यक्रम सम्पन्न हुने जनाए ।
प्रव्रज्या कार्यक्रमका मुख्य गतिविधिहरूमा फागुन २६ गते नाम दर्ता र पूर्वाभ्यास, फागुन २७ गते नागबहालमा केश छेदन (कपाल खौरने) कार्यक्रम, फागुन २८ गते बुद्ध जन्मभूमि लुम्बिनी प्रस्थान हुनेछ ।
साथै चैत्र २ गते मायादेवी मन्दिरमा विधिवत् प्रव्रज्या समारोह हुनेछ ।
चैत्र ३ गते लुम्बिनी परिसरमा भिक्षाटन तथा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन, चैत्र १४ गते देवदह, बुटवल, रामग्राम र भैरहवा क्षेत्रमा धम्मयात्रा, चैत्र १५ गते प्रमाणपत्र वितरण, चैत्र १६ र १७ गते सहभागीहरूको गृह नगरमा भिक्षाटन हुनेछ ।
प्रव्रज्या सामाजिक नेपालले व्यवस्थापन गर्ने यस कार्यक्रमलाई विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले प्रसारण गर्ने भएकाले नेपालको धार्मिक पर्यटनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । थाइल्याण्ड लगायत अन्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिताले नेपाललाई विश्वमा बुद्धको जन्मभूमिका रूपमा थप परिचित गराउने विश्वास गरिएको छ ।
सहभागी हुन इच्छुक महानुभावहरूले अक्षेश्वर महाविहार पुल्चोकस्थित सम्पर्क कार्यालयमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ । 
त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालीन श्रामणेरहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

लुम्बिनीमा ५०० कुलपुत्रलाई प्रव्रज्या गराइनेः फागुन २६ देखि चैत्र १७ सम्म विशेष कार्यक्रम

Comments