२०८२ सालको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार गायक आनन्द कार्कीलाई
फाल्गुन ४, २०८२, सोमबार | राति १०:२६ बजे | 230
नेपाली संगीत क्षेत्रका वरिष्ठ गायक आनन्द कार्कीलाई २०८२ सालको ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली गीत–संगीतको उन्नयन र प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिन लागिएको आयोजकले जनाएको छ । सूचक प्रकाशनद्वारा स्वर्गीय क्याप्टेन रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको पुरस्कारले कला, साहित्य र समाजप्रतिको निष्ठा, मानवीय मूल्य र चेतनालाई सम्मान गर्दै आएको छ । प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले भने,`गायक कार्कीको सांगीतिक अनुशासन, सिर्जनशीलता र सामाजिक चेतनाले पुरस्कारको मूल भावना स्पष्ट रूपमा प्रतिनिधित्व गरेको छ ।” कवि सपना लामिछानेद्वारा प्रायोजित पुरस्कार आगामी फागुन ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा, कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा प्रदान गरिने छ । आनन्द कार्की भावनात्मक र मधुर स्वरका लागि परिचित छन् । उनका चर्चित गीतहरू “तिम्रो माया”, “फूलको आँखामा”, “तिमीलाई देखेपछि”, “मनभित्र तिमी”, “यो मन त मेरो नेपाली हो” जस्ता गीतहरूले उनको स्वरको गहिराइ र भावनात्मक प्रस्तुति देखाउँछन् । दीर्घ सांगीतिक यात्रा, समर्पण र निरन्तर अभ्यासका कारण उनी नेपाली गीत–संगीतमा सम्मानित कलाकारका रूपमा स्थापित छन् । उक्त पुरस्कारले उनको योगदानको औपचारिक सम्मानसँगै समग्र नेपाली संगीत क्षेत्रको गौरव पनि उजागर गर्ने आयोजकले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
