भक्तपुर २ः कांग्रेस, एमाले, नेमकिपा, नेकपा, राप्रपा प्रतिस्पर्धामा


फाल्गुन ३, २०८२, आइतबार | राति ०९:४२ बजे | 185


भक्तपुर २ः कांग्रेस, एमाले, नेमकिपा, नेकपा, राप्रपा प्रतिस्पर्धामा

काठमाडौं उपत्यकाभित्रको भक्तपुर २ मा उम्मेदवारहरू जित फर्काउने र गढ जोगाउने प्रतिष्ठा बनाएर चुनावी प्रचार र घरदैलोमा सक्रिय भएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको काउन्ट डाउनसँगै प्रमुख दल कांग्रेस, एमाले, नेकपा, रास्वपासहित साना दल नेमकिपा, उज्यालो नेपाल पार्टीलगायतले आन्तरिक तयारी सकेर चुनावी प्रचार र घरदैलोलाई पनि सक्रियतापूर्वक अगाडि बढाएका छन् । यद्यपि, उनीहरूले चुनावी कार्यक्रमअनुसार अझै प्रचार सुरु नभएकाले तयारी र दौडधुपलाई आचारसंहिता पालना गर्नुपर्ने भएकाले अझै चुनावी प्रचारका रूपमा औपचारिक नामकरण भने गरिसकेका छैनन् । 

यस क्षेत्रमा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरमा कांग्रेसका दुर्लभ थापा विजयी भएको यस क्षेत्रमा उसले कबिर राणालाई उम्मेदवार बनाएको छ । एमालेले पार्टी सचिवसमेत रहेका महेश बस्नेतलाई नै दोहोर्‍याएको छ । पूर्वमन्त्रीसमेत रहेका ‘हेभिवेट’ बस्नेत ०७४ का विजेता तथा ०७९ मा थापाका प्रतिद्वन्द्वी उम्मेदवार पनि हुन् । 

अघिल्लो निर्वाचनमा तेस्रो मत ल्याएको नेमकिपाबाट रमेश वैद्य, चौथो मत ल्याएको रास्वपाबाट राजीव खत्री, पाँचौँ मत ल्याएको राप्रपाले विक्रम थापालाई उम्मेदवार बनाएको छ । नेकपाबाट भने केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा उम्मेदवार छन् । एकीकृत समाजवादीसँगको एकतापछि सापकोटा पनि बलियो उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । उज्यालो नेपाल पार्टीबाट जितराम लामा, डा. बाबुराम भट्टराई, जनार्दन शर्मालगायत नेता रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, आम जनता पार्टीकी देवकुमारी साह, नेपाली पार्टीका राजेश बाडे, मंगोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन वासु, जसपा नेपालका नवीन श्रेष्ठ, नेकपा (माओवादी)का प्रकाशराज ढुंगेल, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाललगायत उम्मेदवार छन् ।

खासगरी एमाले र कांग्रेसले यो क्षेत्रलाई बढी प्रतिष्ठाको विषय बनाएर चुनावी प्रचार तीव्र बनाएका छन् । एमाले उम्मेदवार बस्नेत ०७४ को फराकिलो जित र ०७९ मा थोरै मतान्तरको पराजयमा परिणत भएकाले जित दोहोर्‍याउने योजना बुनेर चुनावी दौडमा सामेल छन् । कांग्रेसले भने ०६४ र ०७४ बाहेक लगातार जित्दै आएको क्षेत्रका रूपमा लिएर परम्परागत गढको संरक्षण गर्ने तयारीसहित राणालाई उतारेको छ । अध्यक्ष केपी ओलीसमेत यही क्षेत्रमा बस्ने भएकाले एमाले प्रतिष्ठाकै कारण पनि जित्नैपर्ने दबाबमा छ ।

Comments