मादल चिन्हमा मतदान गर्न नेमकिपाको अपिल, समाजवादी अभियान अघि बढाउने घोषणा
फाल्गुन ३, २०८२, आइतबार | साँझ ०५:३४ बजे | 150
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी निर्वाचनलाई समाजवादी प्रचार अभियानका रूपमा उपयोग गर्ने जनाएको छ। पार्टीले देश र जनताको निःस्वार्थ सेवा गर्ने आफ्नो स्थापनाकालीन लक्ष्यलाई पुनः दोहोर्याउँदै मादल चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेको छ।
२०३१ साल माघ १० गते स्थापना भएको नेमकिपाले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा र साम्राज्यवादविरोधी आन्दोलनमा निरन्तर नेतृत्व गर्दै आएको उल्लेख गरेको छ। पार्टीका अनुसार विगत ३५ वर्षमा पालैपालो सत्तामा पुगेका शासक दलहरूले देश र जनताका समस्या समाधान गर्न नसकेको र पछिल्ला राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणासम्मको अवस्था सिर्जना भएको हो।
नेमकिपाले निर्वाचनलाई जनतालाई राजनीतिक रूपमा शिक्षित गर्ने माध्यम र आमूल परिवर्तनको संकेत गर्ने ‘बारोमिटर’ का रूपमा लिएको जनाएको छ। पार्टीले पुँजीवादी व्यवस्थाको विकल्प समाजवाद रहेको दाबी गर्दै क्रान्तिकारी संसदीय भूमिकामार्फत जनपक्षीय आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाले प्रत्यक्षतर्फ १२० उम्मेदवार उठाएको छ, जसमा ४५ जना महिला रहेका छन्। समानुपातिकतर्फ १०७ उम्मेदवारमध्ये ५८ जना महिला रहेको पार्टीले जनाएको छ।
घोषणापत्रका प्रमुख बुँदाहरू सार्वजनिक गर्दै नेमकिपाले संसदलाई नीति, ऐन र बजेट निर्माण गर्ने थलोका रूपमा प्रभावकारी बनाउनुपर्ने, नागरिकतासम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्नुपर्ने, दुर्गम क्षेत्रका विकास आयोजनाहरू अघि बढाउनुपर्ने र भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
त्यसैगरी, कर्मचारीलाई तलब खुवाउन ऋण लिने र ऋणकै साँवा–व्याज तिर्न थप ऋण लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, स्वास्थ्य बीमा प्रभावकारी बनाउनुपर्ने, निर्वाचित जनप्रतिनिधि आफ्नै जिल्लामा बसेर सेवा गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने लगायतका एजेन्डा पनि अघि सारिएको छ।
पार्टीले संसदलाई ‘हाजिर गरेर भत्ता पचाउने’ थलो बन्न नदिन र सुशासन तथा लोकतन्त्र सुदृढ गर्न आफ्नो पक्षमा मत दिन आग्रह गरेको छ। नेमकिपाले यसपटक पनि संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताको निःस्वार्थ सेवामा लागिरहने प्रतिबद्धता जनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
