चिनियाँं पत्रकारलाई गरियो भक्तपुरमा पुरस्कृत
फाल्गुन २, २०८२, शनिबार | साँझ ०६:४४ बजे | 125
काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले अबदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. देवेन्द्र गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यो व्यवस्था सन् २०२६ देखि लागु हुनेछ ।
यसअघि उक्त पुरस्कार स्व. देवेन्द्र गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो । तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
“स्मृतिदिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । देवेन्द्र गौतमले अँगालेका मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले अब यो पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिनेछ” अध्यक्ष प्रदीपा गौतमले भन्नुभयो ।
यसपटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिएको छ । निडर खोज पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा श्रेष्ठको निरन्तर योगदानले नेपाली पत्रकारितालाई मजबुत बनाएको छ । सम्मानपत्रसहित यो पुरस्कारको राशिः रु एक लाख रहेको छ ।
यसैगरी, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउँदै आउनुभएका प्राविधिक हरि बहादुर थापा मगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिएको छ । संस्थागत स्थायित्व, निष्ठा र दीर्घ सेवाको प्रतिनिधित्व गर्ने उहाँको योगदान नेपाली पत्रकारिताको मौन आधारस्तम्भका रूपमा रहेको छ । सम्मानपत्रसहित यो पुरस्कार राशि रु पचास हजार रहेको छ ।
यस्तै, चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिएको छ । उहाँले नेपालका राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिसम्बन्धी करिब तीन हजार समाचार, तस्बिर र भिडियो रिपोर्ट प्रकाशन गर्नुभएको छ । उहाँका सामग्रीहरू विभिन्न देशका सञ्चारमाध्यमहरूमा पुनःप्रकाशित भई नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । सम्मानपत्रसहित यो पुरस्कार राशिः रु पचास हजार रहेको छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व, नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो । सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानलाई सम्मान गर्नु यस पुरस्कारको मूल उद्देश्य हो ।
अबदेखि यो पुरस्कार फेब्रुअरी १३ मा प्रदान गरिने भएकाले यसले स्मरणभन्दा उत्सव, शोकभन्दा प्रेरणाको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
