भक्तपुर २ः गलत अफबाह फैलाइ भोटको राजनीति थालेको आरोप 


माघ २७, २०८२, मङ्गलबार | राति ०९:४७ बजे | 1580


भक्तपुर २ः गलत अफबाह फैलाइ भोटको राजनीति थालेको आरोप 

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि निकोसेराका स्वतन्त्र अभियन्ता निशुल प्रजापतिले भोटको लागि जनतामा भ्रम नछर्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निकोसेरोको सडक बनाउन लागि आफूहरुले बजेट ल्याएको भन्दै गलत अफबाह फैलाइ भोटको राजनीति थालेको आरोप लगाएका छन् । भ्रम नछर्कनुस्, निकोसेराको बाटो बनाउन कुनै नेताको हात साथ छैन, ४४ करोड २६ लाखको बजेट कसै नेताले ल्याइदिएको हैन भन्ने शीर्षकमा उनले लाइभमार्फत् भ्रम नछर्न चेतावनी दिएका हुन् । 
निकोसेराको सडकसँंग जोडिएर एउटा घिनलाग्दो राजनीति सुरु भएको भन्दै उनले त्यो बेला आफूहरुले २० मिटर मापदण्ड पीडित संघर्ष समितिले संघर्ष गरेको तर कुनै नेताले साथ नदिएको स्मरण गरेका छन् । यो भ्रममा भक्तपुर क्षेत्र नं २ का मतदाता पर्ने छैनन् र कोही यो विषयमा अलमल हुनुहुन्छ भने स्पष्ट गराउन पनि आफूले यो कुरा सेयर गरेको उनले जनाए । २०७३ सालमा पनि पार्टी प्रवेशको अफबाह फैलाएको स्मरण उनले गरे । 
कुन पार्टीले यस्तो फैलाएको हो, त्यो भने उनले खुलाएका छैनन् । तर उनले त्यो बेला जस लिन भनी तत्कालिन मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीहरु फोटो खिचाउनका लागि आएको जनाएका छन् । उक्त समयमा मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी अन्जनादेवी मधिकर्मी थिइन् । 
काठमाडौंको मनोहरापुलदेखि सानोठिमी, बाहखाबजार हुँंदै निकोसेरा खस्यागखुसुग खोलासम्मको सडक विस्तारको योजनाका लागि ४४ करोड २६ लाखको बजेटबाट काम भएको थियो । यस क्रममा निकोसेराबासीहरुले २० मिटर मापदण्ड पीडितकोतर्फबाट संघर्ष गर्दा निकोसेराको बाटो लामो समयसम्म अलपत्र परेको थियो । 
 

Comments