भक्तपुर १ः जुन क्षेत्रलाई अहिलेसम्म कसैले हल्लाउन सकेन
माघ १९, २०८२, सोमबार | राति १०:०१ बजे | 175
भक्तपुर । आगामी फागुन २१ को चुनावमा भक्तपुर क्षेत्र नम्बर १ मा कसले जित्ला ? यस क्षेत्रभित्र पर्ने भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका मतदातासँग यो जिज्ञासा राख्दा अधिकांशको जवाफ आयो– ‘मादल’ अर्थात् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ।
२०४८ सालयताका सबै निर्वाचनमा लगातार जित्दै आएको नेमकिपाको गढका रुपमा चर्चित छ भक्तपुर-१ । २०४८, २०५१, २०५६, २०६४ र २०७० गरेर पाँच पटक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यस क्षेत्रमा निरन्तर चुनाव जिते । त्यसपछि २०७४ र २०७९ मा नेमकिपाका सचिव प्रेम सुवालले प्रत्यक्षतर्फ चुनाव जिते । त्यसो त २०७० मै समानुपातिकबाट दोस्रो संविधानसभामा सुवालले यात्रा गरेका थिए ।
भक्तपुर नगरपालिका-१० कमलविनायकका बासिन्दा मकबुल अलि आगामी चुनाव नेमकिपाले नै जित्ने दाबी गर्छन् । ‘भक्तपुर भनेको त नेमकिपा (मादल) को गढ नै हो,’ उनी भन्छन्, ‘तर नयाँ–नयाँ पार्टीहरू पनि खुलेका छन्, मान्छेहरू अरू पार्टीमा पनि लागिरहेका छन् ।’ मकबुलका अनुसार नयाँ पार्टीहरूको प्रभाव खासै परेको छैन । तर गाउँगाउँमा चाहिँ धेरै प्रभाव देखिएको छ । भक्तपुर-१ मा नेमकिपा बाहेक अरू पार्टी आउने सम्भावना कमै रहेको उनी बताउँछन् । ‘नेमकिपाले राम्रो काम गरेको छ, विकास भएको छ । कलेज, स्कुल, बाटोघाटो सबै राम्रो बनाएको छ । हामी जनता पनि सन्तुष्ट छौँ,’ उनी भन्छन् ।
भक्तपुर दरबार स्क्वायरमा भेटिएका स्थानीय बासिन्दा दीपबहादुर लामाले पनि यस क्षेत्रमा नेमकिपाको पकड बलियो भएको उदाहरण पेस गरे । ‘नेमकिपाले शिक्षा, स्वास्थ्य र विकासमा राम्रो काम गरेको छ । सबै कुरामा नेमकिपाले ध्यान दिएको छ, त्यसैले विकल्प देखिँदैन,’ उनी भन्छन्, ‘नयाँले पनि केही गर्ला कि जस्तो लाग्छ मलाई, तर भक्तपुरमा चाहिँ नेमकिपा नै अगाडि होला ।’
भक्तपुर दरबार स्क्वायरमा क्युरियो पसल सञ्चालन गरिरहेका धनबहादुर नेपाली ‘डेभिड’ क्षेत्र नम्बर १ मा (नेमकिपा) ले नै जित्ने सम्भावना बढी रहेको बताउँछन् । ‘नेमकिपाले मन्दिरहरू राम्रो बनायो, सरसफाइमा ध्यान दियो र स्वास्थ्यमा पनि काम गरेको छ,’ यही क्षेत्रका मतदाता नेपाली भन्छन्, ‘भक्तपुरमा नेमकिपालाई हराउन गाह्रो छ ।’
नेमकिपाको प्रभाव भक्तपुर नगरपालिकाभित्र जति बलियो छ, चाँगुनारायण नगरपालिकामा त्यति देखिँदैन । भक्तपुर नगर क्षेत्रबाट चाँगुनारायणका वडाहरूतर्फ लाग्दै गर्दा नयाँ पार्टीको लहर देखिन्छ । चाँगुनारायण नगरपालिका-७ बाँसबारीकी अम्बिका काफ्ले यसपालि नयाँ पार्टीलाई भोट दिने बताउँछिन् । उनलाई नयाँ दलप्रति आशा छ । ‘नयाँले केही गर्लान् भन्ने आशा छ,’ उनी भन्छिन्, ‘पुरानाले केही गरेनन् ।’
भक्तपुर क्षेत्र नम्बर १ की बासिन्दा रमिता खत्रीले पनि यस पटक नयाँ उम्मेदवारलाई भोट दिने मनसाय बनाएकी छिन् । ‘नयाँ पार्टीहरूले केही गर्लान् कि भन्ने लहर छ,’ उनी भन्छिन्, ‘सधैँ पुरानैलाई भोट दिनुभन्दा एकपटक नयाँ जनप्रतिनिधिलाई अवसर दिनुपर्छ । नयाँ सोच र नयाँ विकासको क्रम सुरु हुनुपर्छ ।’
भक्तपुर-९ कमलबिनायक, ताथलीकी रमिता खड्का पनि यस पटक नयाँ र राम्रो प्रतिनिधि छान्ने निर्णयमा पुगेकी छिन् । एक पटक नयाँ जनप्रतिनिधि छान्दा विकास हुन्छ कि भन्ने उनलाई लागेको छ । ‘आफ्नै देशमा रोजगारीको सिर्जना हुनुपर्छ, जनताले सीपमूलक तालिम पाउनुपर्यो,’ रमिता भन्छिन्, ‘नयाँलाई एक पटक रोजेर हेर्न मन छ ।’
नयाँ दलहरूप्रति नयाँपुस्ताका युवाहरूलाई मात्र होइन, ८४ वर्षीय रत्नबहादुरको पनि आशा र भरोसा छ । भक्तपुर-१ का मतदाता उनी भन्छन्, ‘पुरानाले त केही गरेनन्, खाली खान मात्र खोजे । नयाँले केही गर्छन् कि भन्ने आशा छ ।’
पहिलो पटक चुनावमा होमिएको विप्लव नेतृत्वको नेकपा माओवादीका सुभाष अधिकारी भक्तपुर-१ को आसन्न चुनावी अंकगणित फेरिने बताउँछन् । नेकपा माओवादीको भक्तपुर जिल्ला सचिव समेत रहेका अधिकारीले माओवादीका श्रमसँग जोडिएको पार्टीका रुपमा चिनाए । ‘अरू जस्तो झण्डा–ब्यानर बोकेर, ठुला-ठुला कुरा गरेर जनतालाई भ्रममा पार्दैनौँ । हामी हिजो पनि जनताकै साथमा थियौँ, आज पनि छौँ,’ उनले भने ।
यसअघि माओवादीले चुनाव बहिष्कार गर्दै आएको थियो । यसपटक किन सहभागी भयो ? जेनजी विद्रोहपछि जनताको मानसिकता फेरिएकाले यो चुनाव जनतालाई आफ्ना कुरा सुनाउने माध्यम मात्र भएको अधिकारी बताउँछन् । ‘हामी यो संसदीय व्यवस्थाको विरुद्धमै छौँ, तर जनतासम्म पुग्न यसलाई उपयोग गरेका हौँ,’ उनी भन्छन् ।
भक्तपुर क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका गरी १९ वटा वडा समावेश छन् । यहाँ ५२ हजार ६६ पुरुष र ५४ हजार ९ सय ८८ महिला गरी कुल १ लाख ७ हजार ४४ मतदाता छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भक्तपुर-१ का उम्मेदवारले अधिकतम २९ लाख र क्षेत्र नम्बर २ का उम्मेदवारले २७ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
नेमकिपाको गढ किन भत्काउन सक्दैनन् अन्य दलले ?
यस पटक नेमकिपाले ५९ जिल्लामा उम्मेदवारी दिएको छ । अन्य निर्वाचन क्षेत्रबारे पूर्व अनुमान गर्न नसकिए पनि भक्तपुर–१ मा जित निश्चित जस्तै मानिन्छ । २०७९ को निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गरेर विजयी बने । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरे । ३० हजार ७९३ मतको फराकिलो मतान्तरले सुवालले जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत पाएर तेस्रो स्थानमा सीमित भए । यस्तै ३३ हजार ८ सय ५१ मत प्राप्त गरेको नेमकिपाले समानुपातिकतर्फ पनि लोकप्रिय मत प्राप्त गर्यो ।
किसान आन्दोलनबाट जन्मिएको नेमकिपाले २०२१ सालमा भूमिसुधार लागु भएपछि किसानलाई मोहियानी हक दिलाउन संघर्ष गर्यो । किसानहरुलाई मोहियानी हक दिलाउन पार्टीका नेता कार्यकर्ताहरु किसानका खेतमा पुगेर आफैंले बाली काट्ने र भित्र्याउने काम गरे । किसानलाई जोताहा हक दिलाए । भक्तपुरवासीलाई मोहियानी हक दिलाउने संघर्षको लडाइँमा नेमकिपाका नेता, कार्यकर्तालाई चोरी, ठगी र लुटपाटको मुद्दा मात्र लागेन, कतिपय कार्यकर्ता घाइते र अपाङ्ग बन्नुपर्यो ।
नेमकिपाले २०२५ सालदेखि नै भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनायो । कृषि सहकारी र स्थानीय साहु-महाजनका गलत क्रियाकलापविरुद्ध बुलन्द आवाज उठायो । भक्तपुर उपत्यकाको प्रमुख पर्यटकीय स्थल हो । यहाँका सांस्कृतिक सम्पदाको संरक्षणमा नेमकिपाले विशेष भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य र सडकको विस्तार र विकासका लागि नेमकिपाले नमुना काम गरेको छ ।
२०५८ सालमा स्थापना भएको ख्वपः इन्जिनियरिङ कलेजले सर्वसुलभ शुल्कमा इन्जिनियरिङ पढाउँदै आएको छ । सामुदायिक विद्यालय गुणस्तरीय र निःशुल्क बनाएको छ । स्वास्थ्य परीक्षण गर्न घरघरमा नर्सहरू पठाउँछ । भक्तपुर नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्र, ६ वटा ओभरसियर पढाउने कलेज, ३ वटा जनस्वास्थ्य कार्यालय सञ्चालन गरेर सेवा प्रदान गरिरहेको छ ।
नगरभित्र पुरानो बस्तीमा कसैले नयाँ घर बनाउँदा पुरानो शैली मास्न नपाउने नियम छ । पुरानै स्वरूपका घर निर्माणलाई प्रोत्साहन गर्न ३५ प्रतिशत नगरपालिकाले अनुदान दिन्छ । सबै वडामा स्वास्थ्य जाँचको व्यवस्था छ । भक्तपुरका मतदाताहरुका अनुसार नेमकिपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सडक राम्रो काम गरेको छ ।
५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा दिएको नेमकिपाले उम्मेदवारी
भक्तपुरमा स्थापित नेमकिपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको छ ।
कर्णाली प्रदेशमा सात जिल्लाका नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाएको छ । कोशी प्रदेशका १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेस प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार खडा गरेको छ ।
लुम्बिनी प्रदेशका १२ मध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र ६ पुरुषलाई उम्मेदवारी दर्ता गरेको छ । यस्तै गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदुरपश्चिम प्रदेशमा बाजुरा बाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवारी मनोनयन गराएको छ ।
भक्तपुर-१ मा को–को छन् चुनावी मैदानमा ?
भक्तपुर क्षेत्र नम्बर १ मा विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका प्रेम सुवाल चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावमा भिड्दैछन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०७४ सालमा राजनीतिमा पुस्तान्तरण गर्ने घोषणा गर्दै उम्मेदवारी नदिएपछि सुवालले निरन्तर चुनाव जित्दै आएका छन् ।
एमालेबाट चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोमप्रसाद मिश्र र नेपाली कांग्रेसबाट नेपाल बार एसोसिएसन भक्तपुरका पूर्व अध्यक्ष किरण न्यौपाने प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने र नेपालका लागि नेपाली पार्टीका दीपक पोखरेल मैदानमा छन् ।
यसैगरी जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा माओवादीका चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजु उम्मेदवार छन् । यस्तै बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदीप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु र सुजिता बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारका के–के छन् चुनावी एजेन्डा ?
अघिल्ला चुनावहरू बहिष्कार गर्दै आएको विप्वल नेतृत्वको नेकपा (माओवादी) ले पहिलो पटक चुनावमा भाग लिएको छ । भक्तपुर-१ मा उम्मेदवारी दिएका नेकपा (माओवादी) का चन्द्रमान कोजु उत्साहित भेटिए । जेनजी विद्रोहपछि देशमा फरक परिस्थीति उत्पन्न भएपछि पार्टीले चुनावमा भाग लिएको प्रष्ट्याए ।
न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत राज्यका सबै अंग र निकायमा बहिष्करणमा पारिएका वर्ग, क्षेत्र, जातजाति तथा लिङ्गको समानुपातिक सहभागिता र प्रतिष्पर्धालाई सुनिश्चित गर्ने उनले व्याख्या गरे । गुणस्तरीय शिक्षा, आम नागरिकको स्वास्थ्यमा पहुँच, स्थानीय ज्ञान र सीपमा आधारित साना घरेलु उद्योगको विकास, उद्यमशील पाठशाला तथा सिकाइ केन्द्रको स्थापना गर्ने नीति रहेको उनको भनाइ छ । विज्ञान, प्रविधि, सुरक्षा, सूचना तथा सञ्चार, यातायात र पर्यटन क्षेत्रमा बृहत्तर परिवर्तनका लागि काम गर्ने एजेन्डा रहेको उनले सुनाए । स्वाधीनता, आत्मनिर्भरता र समानताका लागि नेकपा (माओवादी) प्रतिवद्ध भएको उनी दाबी गर्छन् ।
चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोमप्रसाद मिश्र एमालेका तर्फबाट यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । ‘भक्तपुरको आवाज संघीय संसद्ले सुनेन,’ उनी भन्छन, ‘नेमकिपाका एक जना सांसदले मात्र संसद्मा आवाज उठाएर भएन । त्यसका लागि राष्ट्रिय पार्टीका उम्मेदवारलाई नै चुनाव जिताउनु भक्तपुरको हितमा हुन्छ ।’
मिश्रले फेसबुकमा पेज खोलेका छन्, ‘मिसन रुपान्तरण, सोम मिश्र’ । यस पेजमार्फत उनले चुनावी एजेन्डा मात्र अघि सारेका छैनन्, चाँगुनारायण नगरपालिकाको मेयर छँदा गरेका कामको फेहरिस्त पनि राखेका छन् । शिक्षा, स्वास्थ्य, सुशासन र स्थायित्वका लागि आफू समर्पित हुने उनले बताए । भक्तपुरको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरेर धेरैलाई रोजगारी प्रदान गर्ने, भक्तपुरलाई मुलुककै सांस्कृतिक केन्द्र बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरुको आयोजना गर्ने लगायतका योजना उनले सुनाए । आफ्नो एजेन्डाहरु डिजिटल प्लेटफर्ममार्फत जनतासम्म पुर्याउन भरपूर प्रयास गरिरहेका छन् ।
यस्तै कांग्रेसका किरण न्यौपानेले कानुन बनाउन र सुशासन कायम गर्न आफूलाई जिताउनुपर्ने जिकिर गरे । २०४७ सालदेखि राजनीतिक जीवन सुरु गरेका न्यौपानेले स्वदेशमै रोजगारीको सिर्जना गर्न, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफूले भूमिका खेल्ने बताए ।
संसद्मा खरो सुनिने नेमकिपाका प्रेम सुवालसँग राष्ट्रवादी एजेन्डाहरु छन् । संसद्मा एक सिट मात्रै भए पनि नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न उनले माग गरेका थिए । समसामयिक विषयवस्तुमा अध्ययन गरेर संसद्मा बोल्ने सुवालका अभिव्यक्ति चर्चामा आइरहन्छन् ।
सुवालले आफ्नो फेसबुकको कभरमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको तस्विर राख्दै फोटोमै लेखेका छन्– ‘देश र जनताको सेवा गर्नु बाहेक हाम्रो जीवनको कुनै लक्ष्य छैन ।‘ सुवालले नीति र कानुन सुधार गर्न, भ्रष्टाचार, भागबन्डाको नियन्त्रण गर्न, जनताको आवाज संसद्मा उठाउन, सरकारको निरंकुशतामाथि नियन्त्रण गर्न, सरकारको मनपरीतन्त्रलाई नियन्त्रणमा राख्न आफूलाई जिताउनुपर्ने उनी दाबी गर्छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका अधिवक्ता हरिराम लवजु प्रतिनिधिसभा सदस्यका लागि आफू सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गर्छन् । कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर लवजु प्रतिनिधिसभामा पुगेपछि जनपक्षीय काम गर्ने सक्ने बताउँछन् ।
‘कानुन बनाउने थलोमा कानुन बुझेको व्यक्ति निर्वाचित भए मात्र जनताको पक्षमा काम हुन्छ,’ लवजु भन्छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिलाई व्यवहारमा उतार्न र कानुनी संकटबाट देशलाई निकास दिन भक्तपुरको असल प्रतिनिधि बनेर प्रमाणित गर्छु ।’ उनी २०४६ सालको जनआन्दोलनमा सहभागी हुने क्रममा गोली लागेर गम्भीर घाइते भएका व्यक्ति समेत हुन् । उनी त्यसबेला झण्डै दुई महिना जेल समेत बसेका थिए । भदौ २३ र २४ मा भएको जेनजी विद्रोहले उठाएका न्यायोचित माग पूरा गर्न, सुशासन र अमनचयन कायम गर्न नेकपाले सक्ने उनको दाबी छ ।
‘कृषि र पर्यटन मार्फत भक्तपुरलाई समृद्ध जिल्ला बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘चाँगुनारायण र भक्तपुर नगरपालिकामा विकास र समृद्धि बनाएर नमुना क्षेत्र बनाउँछु ।’ ratopati
