जसले एकमहिने श्री स्वस्थानी ब्रतकथाका ब्रतालुहरुलाई सेवा गरे....
माघ १९, २०८२, सोमबार | राति ०९:४१ बजे | 160
भक्तपुर । भक्तपुरको हनुमानघाटमा श्री स्वस्थानी ब्रतकथामा सहभागीहरुलाई सोमबार विदाई गरिएको छ । प्रत्येक वर्ष जस्तै माघ महिनामा हुने एक महिने ब्रतकथामा सहभागी दस जना श्रद्धालुहरुलाई एक कार्यक्रम गरी विदाई गरिएको हो । स्थानीय नेपाल भाषामा यसलाई चर्थी (समापन) भन्ने गरिन्छ ।
काठमाडौंको साँंखुमा जस्तै प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाट पनि एक महिने श्री स्वस्थानी ब्रतकथा हुन्छ । यो एकमहिनासम्म यहाँं पनि साँंखुमा जस्तै ब्रत वस्ने महिलापुरुषहरु भेला भई नित्य कर्म हुने गर्दछ । यही कर्ममा सहभागीहरुलाई विदाई गरिएको हो ।
विदाई पछि त्यहाँं भोजन कार्यक्रम पनि भएको थियो । एक महिनासम्म नुन, माछा, मासु बारेर बसेका उनीहरुलाई नुन, माछा, मासुसहितको नेवारी परिकारको भोजन गराइएको थियो । कार्यक्रमका क्रममा दिनभर भजन पनि गरिएको थियो ।
कार्यक्रममा ब्रत कथाको अन्तिम दिन आइतबार भएको अन्तिम दिनको ब्रतमा सहभागीहरु पनि सहभागी थिए । यस वर्षको ब्रत कथाको अन्तिम दिन आइतबार थियो । अन्तिम दिन आइतबार हनुमानघाटमा थप दुई सय २४ जना ब्रत बसेको जनाइएको छ । साथै कार्यक्रममा ब्रतमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएकाहरु पनि सहभागी थिए । यसरी सोमबार चार सय बढी मानिसहरु कार्यक्रममा दिनभर सहभागी थिए ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरलाई पनि सम्मान गरिएको थियो । ब्रतकथाको रुपमा ब्रत बस्ने क्रममा हुने क्रियाकलापहरुमा सहयोग गरेका ७० वर्ष माथिका २२ जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो ।
माधव नारायण ब्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धब खाइतूले प्रत्येक वर्ष ब्रत कथा समापन भएको भोलिपल्ट यसरी नै सांगे (समापन) कार्यक्रम गर्दै आएको जानकारी गराए । यस अनुसार यस वर्ष सेवा गरेका सहयोगी बृद्धबृद्धाहरुलाई यस वर्ष पहिलो पटक सम्मान गरेको जानकारी उनले गराए ।
परम्परादेखि नै भक्तपुरको हनुमानघाटमा पनि ब्रतकथा हुने गर्दै आएको छ । तथापि काठमाडौंको साँंखुमा जस्तो यहाँंको परम्पराबारे निकै कमले मात्रै थाहा पाउने गरेका छन् । यहाँं पुरुष र महिला दुवै लिंगका मानिसहरु ब्रत बस्ने गर्दछन् । यहाँं व्रत बस्ने पुरुषहरु विहान आइ बेलुकी सुत्नका लागि आआफनो घर जाने तर महिलाहरु भने यही सुत्ने गर्दछन् ।
धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत वस्ने चलन छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् ।
किंम्वदन्ती अनुसार सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घरघरमा सुन्ने र सुनाउने परम्परा छ ।
श्रीस्वस्थानीको व्रतकालमा भक्तपुरको हनुमानघाटबाहेक काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ । यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नु पर्दछ ।
संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ ।
फाेटाेमा हेर्नुहाेस्...
