काभ्रे-१ मा काङ्ग्रेस-एमाले परित्याग गरी ३ दर्जन युवाले रोजे 'उज्यालो नेपाल'


माघ १८, २०८२, आइतबार | राति १०:११ बजे | 275


काभ्रे-१ मा काङ्ग्रेस-एमाले परित्याग गरी ३ दर्जन युवाले रोजे 'उज्यालो नेपाल'

फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा काभ्रेपलान्चोक क्षेत्र नं. १ मा राजनीतिक माहोल तातिएको छ। यसै सिलसिलामा नमोबद्ध नगरपालिका र रोशी गाउँपालिका क्षेत्रका विभिन्न पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताहरू आफ्नो पुरानो आबद्धता त्याग्दै उज्यालो नेपाल पार्टी प्रवेश गरेका छन्।

उम्मेदवार भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका बाग्मती प्रदेश सदस्य कान्छा तामाङ र नेकपाका जिल्ला सचिवालय सदस्य वीरेन्द्र लामा जस्ता स्थापित अनुहारहरू उज्यालो नेपाल पार्टीमा समाहित हुनुभएको हो। उहाँहरूसँगै नेपाली काँग्रेसका क्रियाशील सदस्यहरू र नेकपा (एमाले)का सङ्गठित सदस्यहरू गरी ३ दर्जनभन्दा बढी प्रभावशाली युवाहरूले उज्यालो नेपालको झन्डा सम्हालेका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र लामाले नवप्रवेशीहरूलाई स्वागत गर्दै उज्यालो नेपाल पार्टीले बोकेको समृद्धिको एजेन्डामा युवाहरूको यो ऐक्यबद्धता ऐतिहासिक रहेको बताउनुभयो। उहाँले क्षेत्रको सर्वाङ्गीण विकासका लागि अब नयाँ र ऊर्जावान् शक्तिलाई जनताले रोज्ने विश्वास व्यक्त गर्नुभयो।

उत्तर कुमार तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरूको रूपमा मञ्जु मिक्चन तामाङ र चाइना लामाको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन तथा मुख्य पहलकर्ता उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ज्ञानु लामाले गर्नुभएको थियो। सो अवसरमा बोल्दै नेता लामाले नमोबद्ध र रोशी क्षेत्रका युवाहरूको यो लहरले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीको विजय यात्रा सुनिश्चित गरेको दाबी गर्नुभयो।
एकै पटक ठुलो सङ्ख्यामा विभिन्न दलका पुराना कार्यकर्ताहरू उज्यालो नेपाल पार्टी प्रवेश गरेपछि काभ्रे क्षेत्र नं. १ मा राजनीतिक चर्चा र नयाँ उत्साह छाएको छ।

Comments